परासी, १२ श्रावण । नवलपरासीको महेशपुर भनसार कार्यालयको राजस्व लक्ष्य वर्षेनी घट्दै गएको छ । महेशपुर छोटी भन्सार कार्यालयबाट मूल भन्सारमा स्तरउन्नती भएपनि राजस्व भने लक्ष्य अनुसार उठन सकिरहेको छैन । महेशपुर भन्सार कार्यालय वि.स. २०७५ श्रावण १ गतेदेखि मूल भन्सारमा स्तर उन्नती भएको थियो । मुल भन्सार घोषणा भएको पहिलो वर्ष कार्यालयले जम्मा १५ करोड राजस्व संकलन गरेको थियो तर यसबर्ष राजस्व घटदै १३ करोडमा खुम्चेको छ ।
कार्यालयले आर्थिक बर्ष २०७६/०७७ मा कुल १३ करोड ४ लाख ६१ हजार ६४१ रुपैया मात्र राजस्व संकलन गरेको छ । महेशपुर छोटी भन्सार हुँदा पनि करिब १० करोड राजस्व उठने गर्दथ्यो तर मुल भएपनि राजस्वमा खासै बृद्धि हुन सकेको छैन । महेसपुर नाकामा व्यपारीहरुको चाप बढ्न नसकेर र चोरी तस्करी बढदै गएकाले राजस्व कमी आउदै गएको अनुमान गर्न सकिन्छ ।
भन्सार कार्यालयले यसवर्षको अषाढसम्ममा संकलन गरेको राजस्वमा भन्सार पैठारी शुल्क तर्फ ६ करोड ७५ लाख ७८ हजार २३८, कृषि सुधार शुल्क तर्फ ३२ लाख ७४ हजार ७६ र भन्सार सेवा दस्तुर तर्फ १५ लाख ५७ हजार ८४५ रुपैयाँ संकलन भएको छ । त्यस्तै अन्तशुल्कतर्फ ६१ लाख २२ हजार ८१३, मुल्य अभिबृद्धि कर तर्फ ४ करोड ४० लाख ३ हजार ९१२ र आयकर तर्फ १० लाख ५९ हजार ५३७ रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।
क्रोनाले यसवर्ष लक्ष्य पुरा हुन नसकेको कार्यालयलको भनाइ छ । कार्यालयले लकडाउन खुकुलो भएपछि अषाढ महिनामा मात्र १ करोड ६८ लाख १६ हजार ५५३ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । भन्सार मुल भएपनि आवश्यक पुर्वाधारको विकास र क्वारेन्टिनको व्यवस्था नभएकाले नाकामा व्यपारीहरुको चाप बढन सकिरहेको छैन ।