परासी, ४ श्रावण । नक्कली जग्गाधनी खडागरि नवलपरासीको ३२ विगाहा जग्गा बेचेको ठहर भएपछि अख्तियारले १३ जना कर्मचारी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेपछि पिडित किसानहरुमा खुशीयाली छाएको छ । जिल्लाको पाल्हीनन्दन गाउँपालिका वडा ६ पडरीको ३२ विगाहा जग्गा भु–माफियाहरुले मालपोत, भुमि सुधार र साविक गाविसको कर्मचारीहरुको मिलोमतोमा नक्कली जग्गा धनी खडा गरि विक्री गरेको अख्तियारको अनुसन्धानले खुलेपछि भु–माफिया सहित ति कर्मचारीहरु विरुद्ध अख्यिार दुरुप्योग अनुसन्धान आयोग बुटवलले भ्रष्टाचार मुद्धा चलाएको हो ।
अख्तियारले अनियमितता र अख्तियार दुरुप्योग गरि भ्रष्टचार गर्ने कर्मचारीहरु बिरुद्ध मुद्दा चलाएपछि पडरी गाउँका जग्गा पिडित किसानहरुको पहिलो चरणको जित भएको बताएका हुन् ।
अख्तियारको यस कदमलाई पडरीगाउँका पिडित किसानहरु स्वागत गर्दै भन्छन ‘‘अब हामी न्याय पाउने छौं, यो हाम्रो पहिलो चरणको जित हो अब दोश्रो चरणको जितका लागि सबै राजनितिक दल र सरोकारवाला निकायहरुले हामी पिडित किसानहरुको न्यायका लागि विशेष अदालतबाट पनि उक्त मुद्दा जिताउन सहयोग गर्न आग्रह छ । ”
स्थानिय किसानहरुले पडरी गाउँमा वडा ६ का अध्यक्ष कृष्णचन्द्र यादवको अध्यक्षतामा गरेको सुझाव संकलन कार्यक्रममा स्थानिय समाजसेवी ईन्द्रमणि पाण्डेले उक्त मुद्दा अख्तियार सम्म पु¥याउन आवश्यक सबै प्रमाणहरु जुटाउन र भोगेको दुख र पिडा सुनाउदै अख्यिार र सहयोग गर्ने व्यक्तिहरुको प्रशंसा पनि गरेका हुन् । अब विशेष अदालतमा ति कर्मचारीहरु विरुद्ध अख्तियारले चलाएको भ्रष्टाचार मुद्दामा सबै दल र सरोकारवालाहरुले सहयोग गर्न पनि आग्रह गरेका हुन् ।
अगाडीको लडाई लडन सुझाव संकलन कार्यक्रममा पुर्व सांसद विनोद उपाध्याय, संविधान सभासदस्य सिता बौडेल, नेकपा जिल्ला अध्यक्ष भविश्वर तिवारी आजाद, जनता समाजवादी पार्टी जिल्ला अध्यक्ष धरेन्द्र यादव, संयुक्त संघर्ष समिति संयोजक राजु हरिजन, वडा अध्यक्ष किसान यादव, युवानेता हरि भण्डारी, समाजसेवी ईन्द्रमणि पाण्डे, युवा समाजसेवी अनुराज पाण्डे लगायतले पिडित किसानहरुको जग्गा फिर्ता गराउन आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका हुन्
अख्तियारले चलायाे मुद्दा
जिल्लाको साविक सनई गाविस ८ ख कि.नं.१२१, २५१, २९७ समेतका जग्गा हदबन्दी रोक्का रहेकोमा भु–माफिया, मालपोत र भुमि सुधार कार्यालयका प्रमुख सहितका कर्मचारीहरु नक्कली जग्गाधनी खडा गरि रोक्का जग्गा फुकुवा गरि पास गरेर व्यापक भ्रष्टाचार गरेको ठहर भएपछि अख्तियारले १३ जना विरुद्ध पाँच करोड पाँच लाख ४२ हजारको विगो दावी गर्दै भ्रस्टाचार मुद्दा चलाएको हो । अख्तियारले चलाएको मुद्दामा मालपोत कार्यालय नवलपरासीका तत्कालीन प्रमुख मालपोत अधिकृत रहेका बहालवाला सहसचिव टीकाराम ज्ञवाली, तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवार, तत्कालीन मालपोत अधिकृत मनोहरप्रसाद पन्थि, तत्कालीन नायब सुब्बाहरु बुद्धिसागर तिवारी, रमेशमान श्रेष्ठ, तत्कालीन गाविस सचिवहरु नन्दलाल दास, बुद्धिसागर सुवेदी, नन्दलाल कुम्हाल कोहार, तत्कालीन कम्प्युटर अपरेटर सुवास खड्का, तत्कालीन खरिदारहरु नेत्रबहादुर चौधरी, अमृतकुमार काम्मुमगर, खगेन्द्र पराजुली र गेरमी गाउँपालिकका रविकुमार खत्रीविरुद्ध मुद्दा चलाएको हो । गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्रीबितरण गरी भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।
‘भारतमा बसोवास गर्ने र भारतमै मृत्यु भएका व्यक्तिलाई नेपालमै बसोवास गर्ने र नेपालको गेरमी गाविसमै मृत्यु भएको भनी नाता प्रमाणित, मृत्युदर्ता प्रमाणपत्र लगायतका गलत कागजातहरु बनाई सम्बन्धित हकवाला व्यक्ति नै फरक पारी साविक मुलुकी ऐन अपुतालीको महलको १७ नम्बर तथा मुलुकी देवानी संहिता, २०७४ को दफा २४८ बमोजिम नेपाल सरकारको नाममा आउनुपर्ने क्षेत्रफल ३२(२(१७.२५ बिघा जग्गाहरुसमेत भारतीय नागरिक पिएस मेहराको छोरा अनुप मेहरावाट बिक्री बितरण गराउने कार्यमा देहायका भूमिसुधार कार्यालय, मालपोत कार्यालय, नवलपरासीका कर्मचारीहरु तथा स्थानिय निकायवाट सिफारिस दिने कर्मचारीहरु एवं स्थानीय व्यक्तिसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ वमोजिमको भ्रष्टाचारजन्य कसुरमा संलग्न रहे भएको तथ्य प्रमाणित हुन आएकोले देहायका व्यक्तिहरुको हकमा देहाय वमोजिमको कसुरमा देहाय बमोजिम सजाय हुन मागदाबी लिइएको छ,’ अख्तियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसरी भएको थियो ३२ विगाहा जग्गा विक्री
नवलपरासीको सनई गाविसको वडा नं. ८ र ९ पडरी गाउँका किसानहरु उक्त ३२ विगाहा जग्गा तिन÷चार पुस्तादेखि मोही र हुण्डामा जोतभोग गरि भोगचलन गर्दै आएका थिए । सनई ८ र ९ को उल्ल्ेखित ३४ विगाहा जग्गा, भु–माफियाहरु मालपोत, भुमि सुधार र गाविसलाई मोटो आर्थिक प्रलोभन देखाई बेचिएको थियो ।
करिब ५० वर्र्ष अगाडी पडरी गाउँका जमिन्दार प्रेमशरण खत्रीले स्थानिय किसानहरुलाई आफ्नो जग्गा जोत भोग गर्न दिएका थिए । जमिन्दार खत्रीले किसानहरुलाई दिएको केहि जग्गामा मोही लागेको थियो भने केहि जग्गा हुण्डामा थियो । त्यतिबेलादेखि नै जमिन्दार खत्री किसानहरुसंग हुण्डाको वर्षेनी पैसा पनि असुल्दै आएका थिए । जमिन्दार खत्रिले आफ्नै जिवनकालमा जग्गा पास गर्छु भन्दै टाल्दै मृत्युको मुख समेतमा पुगे । जमिन्दार खत्रीको मुत्युपछि उक्त जग्गा लिन उनको कुनै वारेपनि आएनन् । जग्गा यत्तिकै किसानहरुकै जोतभोगमा रहेको, मालपोत र भुमिसुधारबाट पनि रोक्का समेत रहीरहयो ।
लामो समयसम्म जग्गाको कोई वारेस नआएपछि भुमाफियाहरुले उक्त जग्गामा आँखा धँसाए र नक्कली जग्गाधनी खडा गरि बेच्ने योजना बनए । किसानहरुको जिवनमा दुखको घडि तब आईपुग्यो जब यहाँका भु–माफियाहरु नक्कली जग्गाधनी खडा गर्न दिल्लीमा चार्टड एकाउन्टेन्ट काम गरि बस्दै आएको अनुप मेहरालाई जमिन्दार मृतक प्रेमशरण खत्रीको वारेस बनाई नाता प्रमाणित समेत गराए । भारत बस्ने अनुप मेहरा नामक व्यक्ति जमिन्दार मृतक खत्रीको छोरा अनुप खत्री (वारेस) बनेर साविक गेरमी गाविसबाट नाता प्रमाणित गराइएपछि जग्गा बेच्ने खेल शुरु भयो जसले किसानहरुलाई पिडित मात्र होईन बेघर समेत बनाई दियो । नाता प्रमाणितको आधारमा ठुलो रकम घुस खुवाई भु–माफियाहरु करिब ५ करोड रुपैयामा उक्त ३२ विगाहा जग्गा आफनो नाममा पास गराए ।
पडरी गाउँका ६५ जना स्थानिय किसानको जोतभोगमा रहेका ३२ विगाहा जग्गा अनुप महराले विक्री गरेपछि किसानहरु बिचल्ली नै परे । भु–माफियाहरुले नक्कली जग्गाधनी खडा गरि जग्गा पास लिएपछि किसानहरु रुवाबासी नै छायो । जग्गा पाउने आस्वासनमा बसी रहेका किसानहरुसंग बेईमानी गर्दै दोहोरो नागरिकता भएको केहि स्थानिय भु–माफियाहरुको नाममा पास भयो । ६८ वटा कित्तामा रहेको ३४ विगाहा जग्गा मध्ये १ विगाहा ५ कट्ठा जग्गामा पक्की घरघडेरीहरु समेत बनेको छ भने अरु जग्गा खेत खरिहानको रुपमा प्रयोग हुदै आएको छ । पिडित किसानहरुको जग्गा फिर्ता ल्याउन स्थानिय समाजसेवी ईन्द्रमणि पाण्डेको नेतृत्वमा टोली, काठमाण्डौ, भारतको दिल्ली पुगी आवश्यक प्रमाणहरु जुटाई अख्तियार पुग्यो जसले सफलता पायो ।