विद्युत आपूर्ति नियमित गर्न उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीद्धारा प्राधिकरणको ध्यानाकर्षण

0
291

परासी, ९ असार । पटकपटकको विद्युत् आपूर्ति बन्दले पश्चिम नवलपरासीको परासी क्षेत्रका उपभोक्ता हैरान भएका छन् । गर्मीको मौसममा छिनछिनमा विद्युत कटौती हुँदा यो समस्याबाट हजारौँ सेवाग्राही हैरानीमा परेका हुन् । हावाहुरी र पानी पर्न थालेपछि धेरै पटक विद्युत अनियमित रुपमा कटौती हुने गर्दा कामहरु प्रभावित हुने गरेको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवालीले बताउनुभयो । विद्युत कटौती बढ्न थालेपछि वैंक तथा वित्तिय संस्था, सरकारी कार्यालय, विद्युत, खानेपान्री, टेलिकम लगायतमा राजस्व तथा महशुल तिर्न घण्टौँ लाईन बस्ने गरेका उपभोक्ताहरु समेत प्रभावित भएको उहाँले बताउनुभयो ।

गर्मी मौसममा पनि रहेकोले पटकपटक विद्युत कटौती गर्दा हैरानी व्यहोर्नुपरेको उपभोक्ता हित संरक्षण मञ्च रामग्राम नगर अध्यक्ष यमकुमारी सुवेदीले बताउनुभयो । नेपाल विद्युत प्राधिकरणले विद्युत पर्याप्त खपत गर्न सकिने भनेर जानकारी गराउने तर परासी वितरण केन्द्रबाट अनियमित रुपमा विद्युत कटौती गरेर गैरजिम्मेवार र जनतालाई दुःख दिने काम भईरहेको नागरिक समाज नवलपरासीका पूर्व अध्यक्ष शम्भु उपाध्यायले बताउनुभयो ।

पटकपटकको विद्युत कटौती नरोकिएपछि आज उपभोक्ता हित संरक्षण मञ्चले नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रमा पुगेर ध्यानाकर्षण गराएको छ । मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली, जिल्ला सचिव मोहन पौडेल, रामग्राम नगर अध्यक्ष यमकुमारी सुवेदी, नागरिक समाजका पूर्व अध्यक्ष शम्भु उपाध्याय लगायतको टोलीले विद्युतको समस्या तत्काल सुधार गरी नियमित विद्युत आपूर्तिको व्यवस्था मिलाउन ध्यानाकर्षण गरेको हो ।

तत्काल विद्युत कटौतीको समस्या समाधान गरी नियमित रुपमा विद्युत आपूर्ति गर्न माग गरिएको उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला सचिव मोहन पौडेलले बताउनुभयो ।

प्राधिकरण परासी वितरण केन्द्रका प्रमुख विजय महत्तोले मौसमका कारण विद्युत आपूर्तिमा समस्या भएको बताउनुभयो । आफूहरु दिनरात नभनी विद्युत नियमित बनाउन लागिपरेको उहाँको भनाई थियो । गण्डक जल विद्युत केन्द्रबाट ३३ केभिए लाईन परासीसम्म ल्याउने क्रममा जनताबाट अवरोध भएकोले पनि लाईनको विकल्प दिन नसकेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here