पाल्हीनन्दनमा नयाँ नीति, कार्यक्रम तथा बजेटबारे राजनीतिक दलसँग छलफल : कृषि र स्वास्थ्य प्राथमिकतामा

0
393

परासी, ५ असार । पाल्हीनन्दन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति, कार्यक्रम तथा बजेट निर्माणलाई तीव्रता दिएको छ । गाउँपालिकाले आगामी वर्षको बजेट,नीति तथा कार्यक्रम कोरोना भाईरसको महामारीबाट बढी प्रभावित भएको कृषि र स्वास्थ्यलाई प्राथमिकता दिएर निमार्ण गर्ने भएको छ ।

यसैक्रममा पाल्हीनन्दन गाउँपालिकाले आगामी वर्षको बजेट, नीति तथा कार्यक्रमको घोषणा पूर्व आज जिल्लाका क्रियाशिल राजनीतिक दलहरुसँग छलफल तथा सुझाव संकलन गरिएको गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)ले जानकारी दिनुभयो। आगामी वर्षको बजेटमा कृषि, स्वास्थ्य र रोजगारी प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा सहभागी राजनीतिक दलका प्रमुखहरुले पनि कृषि र स्वास्थ्यमै बजेट प्राथमिकता दिन सुझाव दिएका थिए । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला अध्यक्ष भविश्वर तिवारी आजादले कृषि क्षेत्रमा रोजगारी सिर्जना हुने गरी नीति बनाउन जोड दिनुभयो । ६० वर्ष भन्दा माथिका वृद्धबृद्धाहरुलाई घरमै पुगेर स्वास्थ्य उपचार गर्ने व्यवस्था मिलाउन उहाँले जोड दिनुभयो । गेर्मीको राजनारायण माविलाई नमूना विद्यालय बनाउन आफूले पहल गरेर योजना ल्याएको नेकपा अध्यक्ष आजादको भनाई थियो । उहाँले पृथ्वीचन्द्र अस्पताल परासीमा भौतिक पूर्वाधार निर्माणका लागि रु ११ करोड र २७ लाख बराबरको जेनेरेटर ल्याउने योजना पनि नेकपा नेतृत्वको प्रदेश सरकारले विनियोजन गरेको बताउनुभयो ।

यस्तै नेपाली कांग्रेसका कार्यबाहक जिल्ला सभापति अर्जुन पोखरेलले व्यवसायिक र सीपमूलक शिक्षामा जोड दिनुभयो । संविधानसभा सदस्य विक्रम खनालले कृषिलाई प्राथमिकता दिदैँ उत्पादनको आधारमा सहुलियत दिने व्यवस्था गर्न आग्रह गर्नुभयो । कृषि उपज जम्मा गर्ने सेन्टर निर्माणमा पनि ध्यान दिन उहाँले जोड दिनुभयो । जनता समाजवादी पार्टीका नेता मुकुरजी गिरीले कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य, कृषि र शिक्षामा प्राथमिकता दिन आग्रह गर्नुभयो ।

जनता समाजवादी पार्टीका नेता धरेन्द्र यादवले वडामा जाने बजेट सिलिङ् बढाउन, कृषकलाई अनुदानमा दिने र भारतबाट आउने विउको भाउ एकै हुने गरेकोेले त्यसमा सुधार गर्न, विपदका कारण कृषिबालीमा हुने क्षति न्यूनिकरण तथा क्षतिपूर्तिको व्यवस्था गर्न, कृषि उपजको मुल्य निर्धारण गरी बजारीकरणको व्यवस्था मिलाउन लगायतका सुझाव दिनुभएको थियो । प्रेस संगठन नवलपरासीका सहसंयोजक मोहन पौडेलले गाउँपालिकाका सवै वडाका अतिविपन्नको पहिचान गरी परिचय पत्रको व्यवस्था गर्न सुझाव दिनुभयो । गाउँपालिकाको आन्तरिक स्रोत बढाउन,सार्वजनिक जग्गाको संरक्षण, पर्यटन विकास, खानेपानी, खेलमैदानमा पनि ध्यान दिन उहाँको आग्रह थियो ।

प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले केन्द्र÷प्रदेशबाट आउने पचास प्रतिशत लागतका योजनाहरु कार्यान्वयन गर्न समपुरक बजेटको व्यवस्था गरिएकोले वडामा बजेट सिलिङ् घटेको बताउनुभयो । उहाँले पाल्ही भगवति मन्दिर, शिवमन्दिर र गोरखनाथ मन्दिरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न बजेट विनियोजन गरिने बताउनुभयो । कार्यक्रममा राप्रपाका नेता रामभवन यादव, नेकपा पाल्हीनन्दनका अध्यक्ष धुव्रनारायण बानिया, सचिव सुरेश गुप्ता, कांग्रेसका दिनेशमणि पटेल, उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश यादव, पूर्व शिक्षक शिवनाथ गौड लगायतले आ–आफ्नो सुझाव दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here