काठमाडौं, २ असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसका कारण विकराल बन्दै गएको परिस्थितिका बारेमा सरकारलाई दबाब दिन स्वदेश र विदेशबाट एक साथ प्रधानमन्त्रीलाई विशेष ज्ञापन पत्र बुझाउने भएको छ ।
कांग्रेसले आज (मंगलबार) कोरोना भाइरस रोकथामका लागि सरकारको गैरजिम्मेवारीपन र भ्रष्टाचार रोकथामका लागि दबाब दिन स्वदेश र विदेशबाट एक साथ प्रधानमन्त्रीलाई विशेष ज्ञापन पत्र बुझाउन लागेको हो ।
कोरोना महामारीको सन्दर्भमा सरकारको गैरजिम्मेवारपन, अकर्मण्यता, अक्षमता र भ्रष्टाचार विरुद्धमा स्वदेश र विदेशबाट एकसाथ सामाजिक दूरी कायम गर्दै कोरोनाका कारण विकराल बन्दै गएको परिस्थितिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै विशेष ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।
कोरोना महामारीको सन्दर्भमा सरकारको गैरजिम्मेवारपन, अर्कमण्यता, असक्षमता र भ्रष्टाचारविरुद्ध कांग्रेसले सडकदेखि सदनसम्म आक्रमक रुपमा प्रस्तुत् भएर प्रधानमन्त्री केपी ओलीको आगामी कार्यकालको ‘छिनोफानो’ सम्म गर्ने आन्तरिक तयारी गरेको छ । प्रधानमन्त्री ओलीलाई नसुध्रिए कांग्रेसले सरकारविरुद्ध राजनीतिक रुपमा हरेक क्रियाकलपाप गर्न सकिने सन्देश दिन देश र विदेशबाट एक साथ विशेष ज्ञापन पत्र बुझाउन लागेको सहमहामन्त्री डा. प्रकाशशरण महतको भनाइ छ ।
आक्रामक कांग्रेस: सरकारको ‘छिनोफानो’ सम्म जाने तयारीमा
संघीय संसदको संसदीय दलका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटरमै गएर विशेष ज्ञापन पत्र बुझाइने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । प्रदेशसभा संसदीय दलको तर्फबाट प्रदेश सरकारसँग सम्बन्धित विषयवस्तुहरुमा प्रदेश सरकारको मुख्यमन्त्री समक्ष र संघीय सरकारसँग सम्बन्धित विषयवस्तुहरुमा प्रदेश सरकारका मुख्यमन्त्रीमार्फत् प्रधानमन्त्री ओली समक्ष विशेष ज्ञापन पत्र बुझाइने पौडेलले बताए ।
यस्तै कांग्रेसका ७७ वटै जिल्ला कार्यसमितिहरुले प्रमुख जिल्ला अधिकारीमार्फत् र विदेशस्थित नेपाली जनसम्पर्क समितिका तर्फबाट नेपाली दूतावासमार्फत् प्रधानमन्त्री समक्ष विशेष ज्ञापन पत्र बुझाइने भएको छ ।
महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण, महामारीले जनतामा परेको असर समाधानका लागि सरकारले चाल्नुपर्ने कदमलगायतका बारेमा कांग्रेसले यसअघि नै प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाइसकेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले बुझाएको १२ बुँदे ध्यानाकर्षण पत्रमा सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाइएको थियो । प्रतिपक्ष, सञ्चारमाध्यम र जनताको साथ र सहयोग पाउँदा पनि समयमै उचित कदम नचालेकाले सरकार कोरोना नियन्त्रणमा असफल भएको पनि पत्रमा उल्लेख गरिएको थियो ।@baarahkhari.com