बुटवल, २७ जेठ । रुपन्देहीको तिलोत्तमामा भएको सामूहिक हत्याकाण्डमा संलग्न रहेको अभियोगमा पक्राउ परेका व्यक्तिले कसूर स्वीकारेको प्रहरीले जनाएको छ । गएराति तिलोत्तमा–१०, कान्छी बजारस्थित रामबहादुर पुनको गंगादेवी पशु फार्ममा ५ जनाको हत्या भएको थियो ।
घटनापछि भुसको गोदाममा लुकेको अवस्थामा स्थानीयले एक जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । यसरी नियन्त्रणमा पुगेका सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजालीले फरुवा प्रहार गरेर हत्या गरेको स्वीकारेको प्रहरी दाबी छ ।
‘सुरुमा उनले संलग्नता स्वीकारेनन् तर, सोधपुछ गर्दै जाँदा फरुवाले हानेर हत्या गरेको बताएका छन्’, रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले अनलाइनखबरसँग भने । थापा भन्छन्, ‘यो प्रारम्भिक स्वीकारोक्ति हो, विस्तृतमा अनुसन्धानपछि मात्रै खुल्छ ।’
गाउँलेले उनलाई प्रहरीको जिम्मा लगाउँदा सिंजाली अचेत अवस्थामा थिए । उनको स्थानीय क्रिमसन अस्पतालमा उपचार जारी छ । त्यसक्रममा सामान्य बोल्न थालेपछि प्रहरीले प्रारम्भिक सोधपुछ गरेको थियो ।
घटनामा ज्यान गुमाउनेमा सैनामैना मुर्गियाका ४१ वर्षिय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करण चौधरी र आशिष चौधरी हुन् । करण र आशिष फार्मका कामदार होइनन् ।
उनीहरु के कारणले त्यहाँ गए भन्ने खुल्न सकेको छैन । घटनास्थललाई अहिले प्रहरीले शिल गरेको छ । अनुसन्धानका लागि प्रदेश नं. ५ प्रहरी कार्यालयले पनि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजकुमार वैदवारको नेतृत्वमा टोली पठाएको छ ।
उनले अनलाइनखबरसँग भने, ‘म पनि घटनास्थलतर्फ जाँदैछु, त्यहीँ पुगेपछि विस्तृत विवरण खुल्छ ।’ @onlinekhabar.com