परासी, २० बैशाख । नवलपरासीको सरावल गाउँपालिका वडा ४ मा पर्ने बटसार गाउँ र महेसपुर बजार जोडने पुल बनेपछि स्थानियहरु खुशी भएका छन् । तिन बर्षमा सम्पन्न हुने पुल ११ बर्ष लगाएर तयार भएपनि स्थानिय खुशी जाहेर गरेका छन् । परासी हुदै बगेको उक्त झरही खोलामा पुल नहुँदा स्थानियहरु बर्षायाममा जोखिमपुर्ण यात्रा डुङ्गाको सहारा लिन बाध्य हुदै आएका थिए तर अहिले पुल बनेपछि ओहोरदोहोर गर्न सहज भएको बताउँछन् । उक्त पुल बनेको करिब ६ महिना भैसकेको र संचालनमा पनि आईसकेको छ ।
बि.सं २०६६ सालमा तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री बिजय कुमार गच्छदारले ३ वर्षमा निर्माण हुने गरि सो पुलको शिलन्यास गरेका थिए । तर ठेकेदार कम्पनीको लापरवाहीले पुल निर्माणमा ढिलाई हुदै आएको थिये । जिल्लाको भुताहांदेखि महेशपुर सडकखण्ड अन्तर्गत बडसार गाउँ स्थित झरही नदिमा पर्ने उक्त पुल १ सय २५ मिटर लम्बाई र ७ मिटर चौंडाई रहेको सडक डिभिजन कार्यालय बुटवलले जानकारी दिएको छ । कार्यालयका अनुसार लुम्बिनी गुलिभर शितल चन्द्र जेभीले करिब ७ करोडमा उक्त पुल निर्माण गरेको जनाएको छ ।