परासी, १९ बैशाख । लकडाउनले तरकारी विक्री नभएपछि पश्चिम नवलपरासीका किसानहरु चिन्ता व्यक्त गरेका छन् । यतिबेला बारीमा तरकारी तयार भएपनि लकडाउनले बजार बन्द भएका कारण तरकारीहरु चाहिएको मात्रामा विक्री हुन नसकेपछि किसानहरु चिन्तित बनेका हुन् । देश यतिबेला क्रोना भाईरसको संक्रमण रोकथामका लागि लकडाउनमा छ । जसकारण जिल्लाका ठुला–साना बजारहरु पुर्ण रुपले बन्द छन् । खेतमा तयार तरकारीहरु विक्री हुन नसकेर किसानहरु आफैँ गाउँ–गाउँ डुली थोरै मात्रामा विक्री वितरण गर्दै आएका छन् । हाटबजारहरु बन्द र चोक–चोकमा तरकारी पसल राख्दा भिडभाड बढने सम्भावनाले स्थानिय तह र प्रशासन पसल राख्न रोक लगाउदै आएका छन् भने यता असिनापानीले तयार तरकारीमा थप क्षति भैरहेको व्यवसायिक तरकारी खेती गर्ने किसानहरु गुनासो पेखेका छन् ।
जिल्लाको सुनवल नगरपालिका २ मुखिया टोलका एकनारायण सुबेदी हाल १० कठ्ठामा तरकारी खेती गरेका छन् । पहिला उनीकहाँ तरकारी किन्न व्यपारीनै आउँथे तर अहिले लकडाउन र बजार बन्दका कारण उनी आफै साईकलमा राखी तरकारी बेच्दै आएको बताउछन् । घरमा उनी र उनको श्रीमति दुईजना मिलेर तरकारी खेती गर्दै आएका छन् । उनको खेतमा अहिले लौका, बोडी, करैला, टमाटर, फर्सि, घिरौला, भिण्डी, काँकरो, साग, धनिया लगायत तरकारी तयार छ । बार्षिक उनी खर्च कटाएर बार्षिक ५ लाख रुपैया आम्दानी गर्ने गरेको बताउछन् । तर यसबर्ष लकडाउनले तयार तरकारी व्यापक रुपमा विक्री वितरण नभैरहेको तर यसको प्रचार प्रसार पनि हुन नसकेको दुखेसो पोखेका छन् । उनलाई तरकारी खेती गर्न प्रदेश सरकार र सुनवल नगरपालिकाले आर्थिक सहयोग समेत गर्दै आएको छ ।
त्यसैबिच सुनवल नगरपालिकाले आफनो नगरलाई तरकारीमा आत्मनिर्भर बनाउन र भारतीय तरकारी रोक्दै स्थानिय उपजहरुको विक्री वितरणमा सहज वातावरण बनाउने नगर प्रमुख भिम बहादुर थापाले जानकारी दिएका छन् । व्यवसायी तरकारी खेतीका लागि नगरपालिकाले समुह बनाई थप लगानी गर्ने र यसको उचित बजारीकरणको व्यव्सथापन पनि गर्ने नगर प्रमुख थापाले, बताएका छन् । यता लकडाउन भएपछि जिल्लाको विभिन्न क्षेत्रमा भारतीय तरकारीहरुको विगविगिले स्थानिय कृषि उपजहरु बजार पाउन नसकेको किसानहरु बताउछन् । यस्तो बेलामा स्थानिय प्रशासनले भारतीय तरकारीमा रोक लगाउने र स्थानिय तरकारीहरुलाई प्राथमिकतामा राखी विक्री वितरणको वातावरण बनाउन कृषकहरु आग्रह गरेका छन् ।
जिल्लाको ७ वटै स्थानिय तहमा तरकारी खेती हुदै आएपनि जिल्लाको पाल्हीनन्दन, सरावल, प्रतापपुर, सुस्ता गाउँपालिका तरकारीको पकेट क्षेत्रको रुपमा लिइने गरिन्छ । यतिबेला जिल्लामा २५ सय हेक्टर क्षेत्रफलमा तरकारी खेती हुदै आएको छ करिब ३० हजार मेट्रिक टन तरकारी उत्पादन हुदै आएको छ ।