परासी, १६ बैशाख । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा ६ ले पनि आफनो वडाका गरिबविपन्न तथा श्रमिकहरुलाई राहत वितरण गरेको छ । वडा कार्यालयले देश लकडाउनका बेला ज्याला मजदुरी गरि खाने गरिबविपन्न श्रमिकहरु भोकै बस्न नपरोस भनि वडाले राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरेको हो ।
वडामा रहेको १०० जना लक्षितश्रमिक वर्गहरुलाई सामाजिक दुरी कायम गराउदै २५ किलो जिरामन्सुली चामल, १ किलो दाल, १ लिटर तेल, १ किलो नुन ५ सय ग्राम सोयाबिन र २ पिस साबुन वडा कार्यालयबाट वितरण गरिएको वडा अध्यक्ष जितेन्द्र प्रसाद अग्रहरीले जानकारी दिएका छन् । राहत लिन वडामा आउने गरिब श्रमिकहरुलाई वडा अध्यक्ष अग्रहरीले ति खाद्यान्न सामाग्री वितरण गरेका हुन् । राहत वितरण कार्यमा वडा अध्यक्ष, वडा सदस्यहरु र वडा सचिव सहित वडा कर्मचारीहरु खटिएर १०० घरधुरीलाई राहत वितरण गरिएको वडा अध्यक्ष अग्रहरीले बताएका छन्
लकडाउन भएदेखि रामग्राम नगरपालिकाले पहिलो चरणमा संकलित ति घरघुरीलाई राहत वितरण गरेको छ भने अब दोश्रो चरणमा राहत पाउन छुट र गरिब विपन्न तथा श्रमिकहरुलाई राहत वितरण गर्ने उद्देश्यले तथ्याङ्क संकलन भैरहेको बताइएको छ । त्यसैगरि रामग्राम नगरपालिकाको सबै वडामा राहत वितरण कार्य भैरहेको छ भने अधिकांश वडामा राहत वितरण कार्य सम्पन्न समेत भैसकेको नगरपालिकाले जनाएको छ ।