परासी, १५ बैशाख । नवलपरासीमा ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् । ब्राउन सुगरसहित स्कुटीको कभरभित्र लुकाएर अन्य लागूऔषध नेपाल भित्राउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको हो । लागूऔषध ल्याउने व्यक्तिले श्रीमती र ३ वर्षे छोरालाई पनि साथै ल्याएका थिए ।
शसस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. भूजहवाबाट खटिएको गस्ती टोलीले सरावल गाउँपालिकाको भूजहवा नाकाबाट उक्त लागूऔषध बरामद गरेको हो । पक्राउ पर्नेमा पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका–३ कुस्माका ३४ वर्षीया शेषकान्त उपाध्यायलाई पक्राउ गरिएको शसस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर नवलपरासीका उपरीक्षक भरत खनियाले जानकारी दिए । बरामद सामाग्री स्कुटीको अगाडी पट्टी रहेको कभर (भाईजर) भित्र र बस्ने सिटका दुवै पट्टीका कभर ( ब्याक लाईट) भित्र लुकाएर राखिएको थियो ।
लकडाउनको समयमा सुरक्षाकर्मीको चेकजाँच बढी हुने भएकाले लागूऔषध नेपाल ल्याउन उनले भारतबाट श्रीमती र नाबालक छोरालाई पनि साथै ल्याएको हुन सक्ने प्रहरीको आशंका छ । भारतमा उनको ससुराली रहेको प्रहरीले जनाएको छ । ‘दसगजा नजिकबाट मोटरसाईकल डो¥याएर आउँदै गरेको देखियो । प्रहरीलाई देखेपछि उनले मोटरसाईकल झाडीमा लुकाउन लग्दै थिए । त्यही अवस्थामा उनलाई पक्राउ गरिएको हो । खनियाँले भने । दसगजा पार गरिसकेपछि मात्र श्रीमती र छोराहरु पछिपछि हिड्दै आएका थिए । परिवारसँग जाँदा चेकजाँच कम हुने सोँच बनाएर उनले लागूऔषध ल्याएको हुन सक्ने प्रहरीले जनाएको छ । दसगजाको एकान्त स्थानबाट उनले लागूऔषधि भित्राउन खोजेपनि लकडाउनका कारण सबै क्षेत्रमा व्यापक शसस्त्र प्रहरी परिचालन गरेकाले उनको प्रयास सफल हुन नसकेको शसस्त्र प्रहरीले जनाएको छ ।
बरामद भएको लागूऔषध र व्यक्तिहरुलाई शसस्त्र प्रहरीले कारबाहीका लागि बुझाएकाले उनीहरु उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक प्रवक्ता विरेन्द्र थापाले जानकारी दिए । बरामद भएका लागूऔषधमा ७.१५ ग्राम ब्राउन सुगर छ । त्यस्तै विभिन्न नामका ८ सय १४ पिस लागूऔषध छन् । इन्जेक्सन २ सय पिस र विभिन्न नामका सिरफ लागूऔषध ७७ पिस रहेको छ ।