लकडाउनमा उखु किसानहरुलाई घरव्यवहार मिलाउन समस्या : ५८ करोड भुक्तानी पाउने आशमा किसान

0
248

परासी, १४ बैशाख । उखुको भुक्तानी नपाएपछि लकडाउनमा किसानहरुलाई घर–व्यवहार मिलाउन थप सकस भएको छ । उधारोमा उखु क्रसिङ्ग गरेका मिलहरुले अहिलेसम्म एक रुपैया पनि भुक्तानी नगरेपछि किसानहरु समस्यामा परेका हुन् । देश अहिले क्रोना भाईरस विरुद्धको लडाईमा लकडाउनमा छ । आर्थिक कारोबार जताततै ठप्प छ । आर्थिक अवस्था कमजोर किसानहरु घर व्यवहार मिलाउन नसकेर यतिबेला समस्यामा परेको गुनासो गरिरहेका छन् ।

उखु मिलहरुले एकातिर उखु क्रसिङ्ग गर्दै जाने र अर्काे तर्फ भुक्तानी पनि क्रमशै गर्दै जानुपर्नेमा मिलहरुले यसबर्ष उधारो उखु किन्नमै व्यस्त रहेर भुक्तानी तिर ध्यान नदिएकाले किसानहरुलाई थप समस्यामा परेको उखु किसान युवराज मौर्य बताउछन् । उनका अनुसार अहिले किसानहरुको घरमा पैसा छैन देश लकडाउनमा छ कसैले सापटी वा ऋण भएपनि पैसा दिन्न, खेती पनि गर्नु छ र घर व्यवहार पनि मिलाउन धौंधौ भैरहेको छ ।

जिल्लामा बागमति खाडसारी चिनीमिल, ईन्दिरा सुगर ईण्डष्ट्रिज, लुम्बिनी चिनि मिल गरि ३ ठुला चिनी मिल संचालनमा छन् भने ५० भन्दा बढि भेली क्रसरहरु संचालनमा छन् । तर यस बर्ष लुम्बिनी र ईन्दिरा सुगर मिलले किसानहरुलाई आवश्वासन मात्र दिए मिल चलाएनन् । जिल्लाका यि तिनै उखु मिलबाट किसानहरुले ५८ करोड रुपैया भुक्तानी पाउनु पर्ने संघका अध्यक्ष उमेशचन्द्र यादवले बताए । उनका अनुसार इन्दिरा सुगर मिलबाट पुरानै भुक्तानी ८ करोड, लुम्बिनी चिनीमिलको पनि पुरानै भुक्तानी १० करोड र बागमति चिनीमिलको नयाँ क्रसिङ्गबाट ४० करोड गरि कुल ५८ करोड भुक्तानी पाउनु पर्ने अध्यक्ष यादवले जानकारी दिए ।

विगत ५ बर्षदेखि समयमै भुक्तानी नपाएकै कारणले किसानहरु उखु खेती छोडदै गएका छन् । हाल जिल्लामा कुल साढे ७ हजार हेक्टर क्षेत्रफलमा उखु खेति गरिएको छ भने कुल १४ लाख क्विन्टल उखु उत्पादन भएको छ । समस्यामा रहेका किसानहरु पुरै नभएपनि घरव्यवहार मिलाउनका लागि केहि रकमहरु मात्र मिलबाट भुक्तानी पाउन सरकारलाई हार–गुहार गरेका छन् । यस बर्ष उखुको समर्थन मुल्य ५३६ रुपैया प्रति क्वीन्टल रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here