परासी, १४ बैशाख । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नंं ५ ले पत्रकार तथा सुरक्षाकर्मीहरुलाई सुरक्षा सामाग्री उपलब्ध गराएको छ । उबा महासंघ प्रदेश ५ का अध्यक्ष एवं उबा महासंघका केन्द्रिय सदस्य गुणनिधि तिवारीले जिल्लाका सुरक्षाकर्मी र पत्रकारहरुलाई मास्क, सेटिनाईजर, ग्लोब्स उपलब्ध गराएका हुन् । क्रोना भाईरसको माहामारीका बेला सिमा लगायतका क्षेत्रहरुमा अग्रसर भई सुरक्षा प्रदान गरिरहेका सुरक्षाकर्मी र क्रोना विरुद्धको लडाईमा अग्रसर भई जनचेतना फैलाउने कार्यमा खटिरहेका पत्रकारहरुलाई उक्त सुरक्षा सामाग्री अध्यक्ष तिवारीले जिल्ला प्रशासन कार्यालयलाई हस्तान्त्रण गरेका हुन् । यो सामाग्री महासंघ प्रदेश ५ का अध्यक्ष तिवारी सहित कार्यसमितिका केहि पदाधिकारी एवं सदस्यहरुले आ–आफनो तवरबाट आर्थिक सहयोग जुटाई उपलब्ध गराइएको अध्यक्ष तिवारीले बताएका छन् ।
महासंघ प्रदेश ५ बाट प्राप्त उक्त सामाग्रीहरु जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल प्रहरीलाई २ हजार मास्क, २० लिटर सेनिटाईजर र २ पिस ग्लोब्स उपलब्ध गराइएको छ भने, शसस्त्र प्रहरी बललाई ३ हजार मास्क, २० लिटर सेनिटाईजर, ३०० पिस ग्लोबस र नेपाली सेनालाई २ हजार मास्क, २०० पिस ग्लोब्स उपलब्ध गराइएको छ । त्यस्तै जिल्ला विपद व्यवस्थापन समितिलाइ १ हजार मास्क, एम्बुलेन्स चालकहरुलाई ३ सय पिस मास्क र एक डब्बा ग्लोब्स उपलब्ध गराइएको छ । यता नेपाल पत्रकार महासंघमा आवद्ध पत्रकारहरुलाई १ हजार मास्क र १ डब्बा ग्लोब्स उपलब्ध भएको नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्माले जानकारी दिएका छन् । जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी बासुदेव दहालको प्रमुख आतिथ्यतामा सो सामाग्री हस्तान्त्रण भएको हो ।
महासंघ प्रदेश ५ ले देश लकडाउन भएदेखि विभिन्न जिल्लाहरुमा खाद्यान्न तथा सुरक्षा सामाग्रीहरु वितरण गर्दै आएको छ अध्यक्ष तिवारीले जानकारी दिए । यता सिमा खटिरहेको सुरक्षा कर्मी र सामाचार संकलनमा खटिरहेका पत्रकारहरुलाई यस सुरक्षा सामाग्रीले थप सुरक्षा मिल्ने विश्वास लिइएको प्रमुख जिल्ला अधिकारी बासुदेव दहालले बताए । मन्तब्यको क्रममा जिल्ला समन्वय समिति प्रमुख शिवशंकर रायले यस सुरक्षा सामाग्रीले सुरक्षाकर्मी र पत्रकारहरुको मनोबल बढने विश्वास व्यक्त गरे ।