परासी, १२ बैशाख ः नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीले जिल्लाका सञ्चारगृह र पत्रकारहरुलाई सेनिटाइजर र मास्क वितरण गरेको छ । सुनवल नगरपालिकाका प्रमुख भीम बहादुर थापाले उपलब्ध गराएको सेनिटाइजर र मास्क जिल्लामा रहेका सञ्चारगृह र पत्रकारहरुलाई महासंघले वितरण गरेको हो । थापाले पत्रकार महासंघलाई ७० थान हेण्डस सेनिटाइजर, १० थान केएन ९५ मास्क र ७ सय थान सर्जिकल मास्क उपलब्ध गराएका हुन् । कोरोना संक्रमणविरुद्धको समाचारमा अग्रपंक्तिमा रही फिल्डमा खटिएका पत्रकारहरुलाई स्वास्थ्य सुरक्षाका लागि सहयोग उपलब्ध गराइएको नगर प्रमुख थापाले बताए ।
दुई चरणमा उपलब्ध गराइएको मास्क र सेनिटाइजर हाल सञ्चालनमा रहका ६ रेडियो र १ टेलिभिजनसहित पत्रकारहरुलाई उपलब्ध गराइएको महासंघका जिल्ला अध्यक्ष हरि शर्माले जानकारी दिए । हरेक सञ्चारगृहलाई ५० थान मास्कका दरले वितरण गरिएको छ । त्यसैगरी पत्रकारहरुलाई दामासाहीका दरले मास्क र सेनिटाइजर उपलब्ध गराइएको अध्यक्ष शर्माले बताए । महासंघमा आवद्ध भएका सदस्य र अन्य पत्रकार गरी जिल्लामा ८० बढी पत्रकार छन् ।