परासी, ९ बैशाख । पश्चिम नवलपरासीको पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा बिरामीको चाप बढेको छ । चाप बढेपनि ज्वरो र रुघाखोकीका बिरामी भने न्यून रहेको अस्पतालले जनाएको छ । लकडाउनपछि पनि ओपिडी सेवासहित सबै सेवा नियमित सुचारु भएका कारण बिरामीको चाप बढेको अस्पतालको भनाई छ ।
अस्पतालमा दैनिक १ सय २० देखि १ सय ५० जनासम्म बिरामीहरु उपचारका लागि आउने गरेको मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले जानकारी दिए । जसमा ज्वरो र रुघाखोकीका ५÷६ जना मात्र छन् ।
ज्वरोका बिरामीहरु हेर्नका लागि फिबर क्लिनिक सञ्चालन गरिएको छ । अहिलेसम्म कोरोना शंकास्पद बिरामी नदेखिएको डा. होदाले बताए ।
लकडाउनपछि पनि दिनमा २ सय ५० बढी बिरामीहरु आउने गरेका थिए । चाप बढी भएपछि सुरक्षाका हिसाबले स्थानीयहरुलाई नजिकैको स्वास्थ्य संस्थामा जान अनुरोध गरेकाले संख्या कम भएको अस्पतालले जनाएको छ । अस्पतालमा ४ जना मेडिकल अधिकृतसहित ११ जना चिकित्सकहरुले नियमित रुपमा सेवा सञ्चालन गर्दै आएका छन् ।
भारतीय सीमासँग जोडिएका कारण पश्चिम जिल्ला कोरोनाको जोखिममा रहेको भएपनि जिल्लाका स्वास्थ्य संस्थामा पुगेका बिरामीहरुको अवस्था हेर्दा सन्तोषजनक रहेको चिकित्सकरुले बताएका छन् ।