परासी, ६ वैशाख । उद्योगका लागि कच्चापदार्थ लिएर आएका २७ भारतीय ट्रकलाई पश्चिम नवलपरासीको पोखरापालीका स्थानीयले शुक्रबार अवरोध गरेका छन् ।भारतमा कोरोनाको संक्रमण बढिरहेका बेला ट्रकमा आउने चालक र सहचालकका कारण आफूहरु जोखिममा पर्ने भन्दै स्थानीयले ट्रकलाई उद्योग प्रवेश गर्न दिएका छैनन् ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित पोखरापालीमा रहेको सिद्धिलक्ष्मी स्टिल उद्योगका लागि ट्रकले कच्चापदार्थ लिएर आएका हुन् ।भैरहवा भन्सार कार्यालयबाट प्रवेश पाएका ट्रकहरु स्थानीयको अवरोधका कारण उद्योगअगाडि र भूमही–भैरहवा सडकखन्डको सुक्रौलीमा रोकिएका छन् ।
पटक–पटक ट्रक नल्याउन आग्रह गरेपनि दैनिकजसो २० देखि ४० ट्रकहरु भारतबाट आउँदा जोखिम बढेको स्थानीयको भनाइ छ । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले भन्सार काटेर आएका सवारी–साधनलाई रोक्न समस्या भएको बताएका छन् । #@imagekhabar.com