काठमाडौं २ वैशाख। सरकारले कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।कोरोना भाइरसको संक्रमण रोकथामका लागि भन्दै सरकारले चैत ११ देखि लकडाउन गरेकाे हाे । सुरुमा एक हप्ताका लागि गरिएको लकडाउन बढाउँदै वैशाख ३ गतेसम्म कायम राखिएको थियो ।
लकडाउन सकिनु एक दिनअघि बसेको मन्त्रिपरिषद बैठकले थप १२ दिन लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनको समयमा खाद्यवस्तु किन्न र आकस्मिक कामले अस्पताल जान दिने तर अन्य कामका लागि बाहिर निस्कन प्रहरीले रोक्ने गरेको छ । नेपालमा हालसम्म १६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो समय मंगलबार काठमाडौं पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।