परासी, १० चैत । आजदेखि भारत संग जोडिएको सिमानाकाहरु एक साताका लागि बन्द गरिएपछि सिमावर्ति बजारहरु सुनसान बनेका छन् । सरकारले क्रोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै भारत संग जोडिएको सबै नाका एकसाताका लागि बन्द गर्ने निर्णय लिएपछि पश्चिम नवलपरासीका सबै नाकाहरु ठप्प बन्दै बजारहरु पनि सुनसान बनेका छन् ।
नेपाली सिमावर्ति बजारमा भारती उपभोक्ताहरुको पनि निकै भिडभाड हुने भएकाले नाकाबन्दका कारण बजारहरुमा सन्नाटा छाएको छ । यता भारतीय सिमावर्ति बजार ठुठीबारी, झुल्नीपुर, बरगदवाँ लगायतका बजारबाट नेपाल भित्रिन खोज्ने भारतीयहरुलाई सुरक्षाकर्मीहरुले पुर्ण रुपले रोक लगाएका छन् ।
विश्वभरि माहमारीको रुपमा फैलिएको क्रोना भाईरसको संक्रमण भारतमा पनि तिब्र रुपले फैलिदै जाँदा जिल्लाको सबै हाटबजारहरु बन्द गरिएका छन् भने सरकारी कार्यालयहरुबाट अत्यावश्यक सेवा बाहेक अरु सेवाहरु पनि बन्द गरिएका छन् साथै बढि भिडभाड हुने सार्वजनिक स्थलहरु बन्द बन्द गरिएका छन् । नेपाल पनि क्रोना भाईरस संक्रमणको उच्च जोखिममा रहेकाले स्थानिय नेपाली उपभोक्ताहरुलाई सुरक्षाकर्मीले भारतीय बजार जानबाट रोक लगाउदै भारतीयलाई नेपाल छिर्न दिइएको छैन ।