
परासी, ४ चैत । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा क्रोना भाईरसको संक्रमण फैलिन नदिन परासीमा लाग्ने साप्ताहिक हाटबजार बन्द गरिएको छ । विश्वभरि माहमारीको रुपमा फैलिएको क्रोना भाइरसको संक्रमण नगरपालिकामा पनि फैलिन नदिन र उक्त संक्रमणबाट नगरबासीहरुलाई जोगाउन बढि भिडभाड हुने परासीको सनिचरे र बुधाबारे साप्ताहिक हाटबजार बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
छिमेकी मुलुक भारतमा क्रोना भाईरहेको संक्रमण तिब्र रुपमा फैलिरहदा जिल्लाको सिमावर्ति गाउँपालिका र नगरपालिकाहरु पनि उत्तिकै जोखिममा रहेको भन्दै नगरपालिकाले आज एक सुचना जारी गर्दै अर्काे सुचना नआएसम्मको लागि उक्त दुबै हाटबजार बन्द स्थगित भएको जानकारी दिएको छ । साथै रामग्राम नगरपालिकाले पारिवारिक जमघट बाहेक अरु कुनै खालको औपचारिक तथा अनौपचारिक कार्यक्रम नगर्न र भिडभाडमा नजान सबैलाई आग्रह पनि गरेको छ ।