परासी, १२ फागुन । मुस्लिम समुदायको धार्मिक स्थल मदारबाबालाई भेगिय रुपमा विभाजन गर्दै झनै विवादित बनाउन खोजिएको स्थानियले आरोप लगाएका छन् । हिन्दु मुस्लिमको आस्थाका केन्द्रको रुपमा रहेको सिङ्गो मदारस्थानलाई दुई भेगमा विभाजन गरि धार्मिक आस्था माथि खेलवाड गर्न खोजिएको कुतुबल मदारशाह दरगाह कमेटीका कोषाध्यक्ष रियाजुद्दिन अंसारीले आरोप लगाएका हुन् ।
मदारबाबा धार्मिक स्थल पन्चायत कालमा कुडियामा पर्ने गर्दथ्यो । त्यस पछि साविक कुडिया हुदै हाल सुस्ता गाउँपालिका वडा २ महलबारीमा पर्दछ । मदार बाबाको आधार शिविर तल महलबारीमा भएपनि मुख्य मजार स्थल भने ९ किलोमिटर पहाड माथि मदारिया डाँडा अवस्थित छ । लामो समयदेखि यसै क्षेत्रबाट विधिवत रुपमा दर्ता रहेको कुतुबुल मदार शाह दरगाह कमेटीद्धारा तल र माथि मेला संचालन गर्दै आएपनि यस बर्ष पुर्वी नवलपरासीमा जमालुद्धिन अंसारीको अध्यक्षतामा मदारबाबा मजार संरक्षण संस्था दर्ता गरि मेलालाई दुई भेगमा विभाजन गर्न खोजिएको सरकारको निति प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको दरगाह कमेटीका मठाधिश मौलाना अमिरुल्लाह अंसारीले बताए । उनले भने, एउटै धार्मिक स्थललाई संरक्षण गर्न दुई संस्था दर्ता गर्नु र प्रदेशको सिमाङ्कन नहुँदै मजार स्थल प्रदेश ४ परेको दावी गर्न गलत रहेको जिकिर गरे ।
वि.स. २०५७ सालमा जिल्ला प्रशासन कार्यालय नवलपरासीमा मदारबाबा संरक्षणका लागि विधिवत रुपमा संस्था दर्ता गरि मेला संचालन गरिदै आइएको थियो । तर पछिल्लो समय विवाद चुलिएपछि दुईटा संस्था दर्ता भयो । मेला संचालन गर्न दुबै संस्था एक आपसमा तानातान गर्न थालेपछि ३ बर्ष अगाडी जिल्ला प्रशासन कार्यालयको निर्देशनमा दुबै संस्थाको एकिकृत विशेष साधारण सभा तथा अधिवेशनले दुबै संस्थालाई मर्ज गरि कुतुबुल मदार शाह दरगाह कमेटी नामक संस्था खडा भयो । त्यस संस्था प्रति असन्तुष्ट एक समुहले २ बर्षदेखि मेला संचालनका लागि विभिन्न दाउपेच गर्न थालेपनि केहि नलागेपछि डाँडामा रहेको मदारबाबाको मजार स्थल पुर्वी नवलपरासीमा पर्ने भन्दै विभिन्न षडयन्त्र रचदै यसबर्ष सफल भएर माथि मेला मदारबाबा मजार संरक्षण संस्थाले संचालन गरेको दरगाह कमेटीका कोषाध्यक्ष रियाजुद्दिन अंसारीले जानकारी दिए ।
यता मदारबाबा मजार संरक्षण संस्थाका अध्यक्ष जमालुद्दिन अंसारीले धार्मिक अस्थालाई विभाजन नगरिएको र माथिको स्थललाई हामीले संरक्षण गर्ने र तलको स्थललाई उहाँहरुले संरक्षण गर्ने जिम्मेवारी पाएअनुरुप हामीले माथि मेला संचालन गरेको बताए । उनले भने, मदारिया डाँडामा रहेको मदारबाबाको मजार स्थल साविक दुम्किीबास वडा १ मा पर्ने गर्दथ्यो र त्यतिबेला नवलपरासी जिल्ला सिङ्गो थियो त्यसकारण कुनै दावी विरोध थिएन तर अहिले देश संघियतामा गईसकेपछि प्रदेश अथ्वा जिल्लाले आफनो क्षेत्रमा पर्ने धार्मिक क्षेत्रलाई पर्यटनको रुपमा विकास र संरक्षण गर्ने दायित्व नै रहेको उनले बताए ।