कावासोती, १ असोज । मातृभूमि युवा क्लव कावासोती–६ ले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । एम्बुलेन्स सेवाको बुधबारबाट औपचारिक शुभारम्भ गरिएको हो । कावासोती नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हेम प्रसाद पाण्डेले एम्बुलेन्स सेवाको औपचारिक रुपमा शुभारम्भ गुर्न भएको हो । बुधबार विश्वकर्मा पुजाको अवसरमा वौदिक विधिबाट पुजापाठ सहित रिबन काटी एम्बुलेन्स चलाएर वडा अध्यक्ष पाण्डेले एम्बुलेन्स सेवाको औपचारिक शुभारम्भ गर्नु भयो । क्लवको पहलमा एम्बुलेन्स खरिदका लागि कावासोती नगरपालिका वडा नं. ६ को वडागत बजेट र बिष्णुनगर सामुदायिक वन उपभोक्ता समुहबाट समेत सहयोग प्राप्त भएको क्लवका सचिव तिर्थराज डुम्रेले बताउनु भयो ।
बुधबार आयोजित एम्बुलेन्स सेवाको औपचारिक शुभारम्भ एवम् विश्वकर्मा पुजा कार्यक्रममा वडा अध्यक्ष हेमप्रसाद पाण्डेले वडा भित्रका अशक्त विपन्न परिवार र ८४ वर्ष कटेका बृद्धबृद्धाहरुको लागि लाग्ने एम्बुलेन्स खर्चको रकम आफुले उपलब्ध गराउने घोषण गर्नु भयो । एम्बुलेन्स खर्च तिर्न नसक्ने विपन्न परिवार र ८४ वर्ष कटेका बृद्धबृद्धाहरुको एम्बुलेन्स खर्चको रकम आफुले व्यक्तिगत रुपमा उपलब्ध गराउने उहाँले घोषणा गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै बिष्णुनगर सामुदायिक वन उपभोक्ता संस्थाका अध्यक्ष घनलाल सापकोटाले कावासोती क्षेत्रमा नै क्लवले उदरणिय काम गरेको भन्दै आगामी बर्षहरुमा समेत एम्बुलेन्स सेवा सञ्चालनको लागि समुहको तर्फबाट सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भयो । क्लवका पूर्व अध्यक्षहरु ज्ञान प्रसाद डुम्रे र याम बहादुर थापाले सके सम्म कसैलाई पनि एम्बुलेन्स सेवा लिनु पर्ने अवस्था सृजना नहोस् भन्ने कामना गर्दै यस क्षेत्रमा आकास्मिक उद्धारको लागि एम्बुलेन्स सेवा सञ्चालन पछि सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।
वडागत वजेट र सामुदायिक वनको सहयोग तथा क्लवको आन्तरिक स्रोत समेतबाट एम्बुलेन्स खरिद गरिएको हो । एम्बुलेन्स सेवाबाट कावासोती र आसपासको क्षेत्रका स्थानीय लाभाम्वित हुने विश्वास क्लवका अध्यक्ष भरत गौडेलले व्यक्त गर्नु भयो । क्लवले हाल परिवार नियोजन संघ संगको सहकार्यमा प्रजनन् स्वास्थ्य क्लिनिक समेत सञ्चालन गर्दै आएको क्लवका अध्यक्ष गौडेलले बताउनु भयो । आगामी दिनमा प्रजनन् स्वास्थ्य क्लिनिकलाई थप व्यवस्थित गर्दै थप स्वास्थ्य उपचारको व्यवस्था उपलब्ध गराउने योजना सहित क्लव अगाडी बढेको उहाँले बताउनु भयो ।