सुनवल नगरका सबै जनतालाई पहुँच हुने ठाउँमै अस्पताल बन्ने : नगर प्रमुख भरत थापा

0
260


सुनवल २२ भदौ । पश्चिमी नवलपरासीको सुनवल नगरपालिकाले सबै वडाका जनतालाई पायक पर्ने ठाउँमै अस्पताल बनाउने आफनो धारणा व्यक्त गरेको छ । नगरपालिकाद्धारा सोमबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख भिम बहादुर थापाले नगरभरिका सबै जनतालाई सहजै पहुँच हुने ठाउँमै १५ सैयाको अस्पताल निर्माण गर्ने बताएका हुन् । जसको लागि सुनवल नगरपालिकाले वडा ५ को बनकट्टीमा सो अस्पताल निर्माण गर्ने निर्णयलाई नगरसभाबाट पारित समेत गराई प्रक्रिया अगाडी बढाई सकिएको छ ।

नगर प्रमुख थापाले भने, एउटा, दुईटा वडालाई मात्र सहज हुने र अरु ११ वटा वटालाई अपायक पर्ने ठाउँमा नगरपालिकाले कुनै पनि हालतमा अस्पताल निर्माण नगर्ने भन्दै नगरपालिकाले तोकेकै ठाउँमा अस्पताल निर्माण गर्ने सम्मेलनमा जानकारी दिए ।  संघिय सरकारको प्रत्येक स्थानिय तहमा १५ सैयाको अस्पताल बनाउने निर्णय कुनै एक वडाका जनतालाई नभई सबै वडाका जनताहरुलाई सहज र पहुँच हुने ठाउँमा अस्पताल निर्माण गर्ने नगर प्रमुख थापाले जानकारी दिए ।

नगरका सबै जनताहरुलाई पायक पर्ने ठाउँ वडा ५ को बनकट्टी रहेकाले सो प्रस्तावित ठाउँलाई नगर कार्यपालिकाको बैठक र नगरसभाको दुई तिहाई बहुमतले पास गरेको छ तर सो निर्णयलाई वडा ७ र ८ का जनताहरुले विरोध गर्दै आएका छन् । मन्त्रिपरिषद्ले वडा नं. ८ मा रहेको स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरन्नोती गर्ने निर्णय गरेपछि त्यस वडाका स्थानीयले १५ सैयाको अस्पताल यहि बन्नु पर्ने माग गर्दै अस्पताल अन्यत्र बनाउने विषयमा विरोध जनाउदै आएका छन् ।

नगरसभाले पारित गरेको वडा ५ बनकट्टीमा अस्पताल बनाउने नगरपालिकाको निर्णयलाई विरोध गर्दै वडा ७ र ८ का स्थानिय जनताहरुले गत भदौ ११ गते स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवद्धारा अस्पतालको शिलन्यास समेत गराएका छन् । तर नगरपालिकाले सबैको पहुँच हुने स्थान वनकट्टी रहेकाले सोही स्थानमा अस्पताल निर्माण गर्ने स्थानीय सरकारको निर्णय विपरित मन्त्रीले शिलन्यास गरेको भन्दै नगरपालिकाले आपत्ति जनाउँदै आएको छ । अस्पताल निर्माणका लागि नगरपालिकाले सहमति पठाउनु पर्ने प्रावधान छ । सोमबार नगरपालिकाले पत्रकार सम्मेलन गरेर स्थानीय सरकारको संरक्षण र लागत सहभागितामा अस्पताल निर्माण हुने भएकाले शिन्यास गरेको स्थानमा कुनै सहयोग नहुने स्पष्ट पारेको हो ।

पत्रकार सम्मेलनमा नगरप्रमुख भीमबहादुर थापाले अस्पताल निर्माणका लागि नक्सा, डिजाईन र बजेट समेत नआएको बताउनुभयो । कुनै पनि प्रकृया अघि नबढेको अवस्थामा शिलन्यास गरेर मात्र अस्पताल निर्माण नहुने उहाँले बताउनुभयो । राजमार्गमा छेउमा रहेको वनकट्टीमा अस्पताल निर्माणका लागि २ बिघा जग्गा छुट्टाइएको छ । शिलन्यास भएपनि नगरसभाले निर्णय गरेकै स्थानमा अस्पताल निर्माणका लागि मन्त्रालयसँग समन्वय भई रहेको नगरप्रमुख थापाको भनाई छ । अस्पताल निर्माणको भौतिक संरचनाको खर्च मात्र संघीय सरकारको हो । उपकरण प्रदेश सरकारले उपलब्ध गराउने छ । त्यसको संरक्षण र लागत सहभागिता स्थानीय सरकारले व्यहोर्नुपर्ने प्रावधान छ । नगरपालिकाले नै असहमति जनाएपछि वडा नं. ८ मा अस्पताल निर्माण हुनेमा आशंका उत्पन्न भएको छ ।

गत भदौ २० गते नगरपालिकाले आयोजना गरेको समिक्षा कार्यक्रममा प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले तीनै तहका सरकारको सहयोग बिना अस्पताल निर्माण हुन नसक्ने बताउनु भएको थियो । नगरपालिकाले संरक्षण नलिने स्थानमा अस्पताल निर्माण नहुने भएकाले वडा नं. ८ मा शिलन्यास गरेपनि निर्माण हुनेमा आशंका व्यक्त गर्नु भएको थियो । नगरपालिकाले वडा नं. ८ मा रहेको स्वास्थ्य चौकीलाई ‘क’ श्रेणीको स्वास्थ्य चौकीमा स्तरन्नोती गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता कृष्ण देवकोटाले बताउनुभयो । एम्बुलेन्ससहितको स्वास्थ्य चौकीलाई बर्थिङ्ग सेन्टरको रुपमा विकास गर्नका लागि नगरपालिको २५ लाख छुट्टाएको देवकोटाले बताउनुभयो । नगरपालिकामा १३ वडा छन् । दुई वटा वडाबाहेक अन्य वडाका अस्थानीयहरुले वनकट्टीमा अस्पताल निर्माण हुनुपर्ने माग गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here