परासी, १० भदौ । विवादका बीच पश्चिम नवलपरासीको सुनवल नगरपालिका–८ मा १५ शैयाको अस्पताल निर्माण कार्यको शिलन्यास गर्न लागिएको छ । अस्पतालको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले भोली बुधबार शिलन्यास गर्ने कार्यक्रम तय गरिएको छ । अस्पताल निर्माण बारे उच्च अदालत बुटवलमा परेको मुद्दा विचाराधिन छ ।
मुद्दा विचाराधिन रहेका बेला राज्यमन्त्रीद्धारा शिलन्यास गर्न कार्यक्रम राखिएको हो । मुद्दा विचाराधिन रहेको र नगरसभाको निर्णय विपरित काम गर्न लागेको भन्दै नगरपालिकाको सहयोग नरहने नगरप्रमुख भीम बहादुर थापाले बताएका छन् । नगरपालिकाले असहमति जनाउँदा जनाउँदै र मुद्दा अदालतमा विचाराधिन रहेको समयमा सुनवल स्वास्थ्य चौकी व्यवस्थापन समितिको आयोजनामा अस्पतालको शिलन्यास गर्न लागिएको हो । व्यवस्थापन समितिका अध्यक्ष एंव वडा नं. ८ का अध्यक्ष नीलकण्ठ गैरेले राज्यमन्त्रीले अस्पतालको शिलन्यास गर्ने भन्दै पत्र काटेका छन् ।
नगरसभाले उक्त अस्पताल वडा नं. ५ मा निर्माण गर्ने निर्णय गरेको थियो । सरकारले हरेक स्थानीय तहमा स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी १५ शैयाको अस्पताल निर्माण गर्ने नीति अघि सारेको छ । सोही नीतिअनुसार सुनवलमा अस्पताल निर्माण हुन लागेको हो । वडा नं. ८ को स्वास्थ्य चौकीलाई स्तरन्नोती गरी अस्पताल निर्माण गर्न सरकारले स्वीकृत दिएपनि नगरपालिकाले वडा नंं ५ मा सार्न लागेको भन्दै ७ र ८ का स्थानीयले बिरोध जनाउँदै आएका छन् । नगरपालिकामा १३ वडा छन् । ७ र ८ नं. वडाका स्थानीयबाहेक ११ वटा वडाका स्थानीयले भने ५ मा नै अस्पताल निर्माण हुनुपर्ने माग गर्दै आएका छन् । नगरसभाका दुई तिहाई सदस्यले वडा नं. ५मा अस्पताल निर्माण गर्ने निर्णय गरेका थिए । उक्त निर्णयविरुद्ध वडा नं. ८ का तुलाराम पोखरेल र दिल बहादुर खत्रीले अन्तरिम आदेशसमेतको माग राखि उच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले उक्त मुद्दामा अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश दिएको छ । मुद्दा पेशीमा चढाइएको नगरपालिकाले जनाएको छ । विचाराधिन मुद्दाका कुनै काम अघि बढाउन नहुने अधिवक्ता बाबुराम खड्काले बताए ।
नगरपालिकाले प्रस्तावित गरेको वडा राजमार्ग छेउमै छ । वडा नं. ८ मा निर्माण हुन लागेको अस्पताल भने राजमार्गदेखि ९ कि.मि. दक्षिण रहेकाले सबैको पहुँच हुन नसक्ने नगरप्रमुख थापाको भनाई छ । अस्पताल निर्माणबारे नगरपालिकालाई मन्त्रालयले कुनै जानकारी नगराएको थापाले बताए ।
नगरपालिकाको असहमतिका कारण अस्पताल शिलन्यास भएपनि निर्माणको काम अघि बढ्नेमा भने आशंका छ । मन्त्रालयको कार्यविधिमा १५ शैयामा स्तोरन्नती गर्नुपर्ने स्वास्थ्य चौकी केही कारणले अनुपयुक्त भएको देखिएमा पालिकाको बैठकले अर्को स्वास्थ्य चौकी छनौट गर्न सक्ने प्रावधान छ । सोही प्रावधानअनुसार वडा नं. ५ मा निर्माण गर्ने निर्णय गरिएको नगरप्रमुख थापाले बताए । सो स्थानमा चौकी निर्माणका लागि बजेट आएकाले त्यसलाई स्तरन्नोती गरी अस्पताल बनाउन प्रस्ताव गरिएको थापाले बताए । भवन निर्माण सुरु गर्नुअघि भवन निर्माणका लागि चाहिने पूर्वाधार, स्वास्थ्य संस्थाको छनौट निर्णय पालिकाबाट प्राप्त गरेपछि शहरी तथा भवन निर्माण विभागले गर्ने कार्यविधिमा उल्लेख छ । कार्यविधिका स्थानीय तहको लागत सहभागितासहित मुल भवनबाहेक अन्य पर्खाल र भौतिक संरचना स्थानीय तहले नै निर्माण गर्नुपर्ने उल्लेख छ । राजनीतिक खिचातानीले सुनवलमा निर्माण हुन लागेको अस्पताल अन्यौलमा परेको छ ।
वडा नं. ८ का अध्यक्ष एंव स्वाथ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष गरैले गत चैत २९ गतेको मन्त्रीस्तरीय निर्णयले सुनवलको स्वास्थ्य चौकीलाई १५ शैया बनाउने निर्णय गरेकाले मन्त्रीद्धारा शिलन्यास गर्न लागिएको बताए । मन्त्रीस्तरको निर्णय स्थानीय तहले काट्न नसक्ने भन्दै सोही स्थानमा अस्पताल निर्माण हुने गैरेले बताए । अस्पतालको विषयलाई लिएर वडा नं. ८ का स्थानीय र जनप्रतिनिधिहरु बीच यसअघि पनि पटक पटक विवाद हुँदै आएका थिए । आक्रोशित स्थानीयले दुई महिनाअघि जनप्रतिनिधिमाथि ढुंगा मुडा प्रहारगर्दै गाडीसमेत तोडफोड गरेका थिए ।