परासी, ४ श्रावण । पश्चिम नवलपरासीबाट हज यात्रामा जाने १६ जना हज यात्रीहरुको एक कार्यक्रम बिच विदाई गरिएको छ । फैजाने अहले बैत संस्थाको आयोजनामा परासीमा आयोजित हाजी बिदाई कार्यक्रममा जिल्लाबाट हज गर्न जाने १६ जना हजयात्रीहरुलाई फुलमाला र खादा लगाई विदायी गरिएको हो । संस्थाका उपाध्यक्ष मौलाना मोहर्रम अलिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी सम्भु प्रसाद मरासिनीले हजयात्रीहरुलाई फुलमाला लगाई विदाई गरेका हुन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष एवं हजयात्री मौलाना सैयद गुलाम हुसैन मिँयाले हज मुस्लिम समुदायको एक महान एबादत (पुजा) रहेको बताए । उनले भने, अरबीको १२ आंै महिना जिलहिज्जा महिनामा साउदी अरबियाको मक्का मदिना गई हज गर्ने गरिन्छ ।
हज गरेपछि हाजी हर प्रकारको पापबाट मुक्त हुने ईस्लामी मुलमान्यता रही आएको उनले बताए । कार्यक्रममा विभिन्न वक्ताहरुले जिल्लामा देखिएको कबरिस्तान समस्या र मदरसामा उच्च शिक्षा तथा मौलाना शिक्षक दरबन्दी जस्ता समस्यालाईसामाधान गर्न सम्बन्धित निकायलाई आग्रह गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी सम्भु प्रसाद मरासिनीले हजयात्रामा जाने सबैलाई हजको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि एवं पुर्व सभाषद हाजी अलाउद्दिन अंसारी, रामग्राम नगरपालिका उप प्रमुख रम्भा कुँवर, सुनवल नगरपालिका उप प्रमुख दधिराम अर्याल, हज कमेटी पुर्व केन्द्रिय सदस्य बुद्धन अली, हाजी मौलाना तैयब अंसारी, युवा समाजसेवी बिबि खराल, युवा समाजसेवी कासिद अलि, लगायतले हजयात्रीहरुलाई हजको शुभकामना दिएका थिए ।