परासी, २४ जेठ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगर क्षेत्रमा पर्ने विभिन्न खोलामा पक्की पुल निर्माण गर्न थालेको छ। यस आर्थिक वर्षमा मात्र चारवटा पुल निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले बताए।
चारवटा पुलको लागत १० करोड बढी छ। निर्माण गर्न लागिएको पुल रावन खण्डा र भलुही खोलामा छन्। नगरप्रमुख गुप्ताले एक साता अघि नै नगरपालिकाको ४ र १० मा पर्ने लक्ष्मीपुरमा पुलको शिलन्यास गरेर निर्माण कार्य अघि बढाएका हुन्।
पुलको लागत एक करोड ७३ लाख रहेको नगरपालिकाका इन्जिनियर सतिश जयसवालले बताए। त्यसैगरी सुनवल नगरपालिका र रामग्राम नगरपालिका जोड्ने पुल निर्माणको प्रक्रिया अघि बढेको छ।
छोटो दूरीमा राजमार्गमा पुग्न सकिने गरी रामग्राम नगरपालिकाको काशिपुरमा पुल निर्माण हुन लागेको पुलको लागत २ करोड बढी छ। त्यस्तै, परासी र पोखरापाली जोड्ने पुलको पनि प्रक्रिया अघि बढेको नगरप्रमुख गुप्ताले बताए। पुलको लागत २ करोडको हाराहारीमा छ। उक्त तीनवटै पुल रावनखण्डा नदीमा निर्माण हुन लागेका हुन्।
त्यस्तै, सरावल गाउँपालिका र रामग्राम नगरपालिका जोड्नका लागि नगरपालिकाको पाडाटीकडमा पुल निर्माण गर्न लागिएको छ।भलुही खोलामा निर्माण हुन लागेको पुलको लागत ५ करोड बढी छ। सबै पुलसम्बन्धित स्थानीय तहको लगानी र स्थानीय पूर्वाधार विकास कार्यक्रमको आर्थिक सहयोगमा निर्माण हुन लागेका हुन्। साभार अन्नपुर्ण पाेषट