भैरहवा, २ जेष्ठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका शंकरपुर नाकामा बिहीबार गोली चलेको छ । भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका एक व्यक्तिलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।
सादा पोशाकका प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।
प्रहरीका अनुसार गोली लागेर घाइते भएका व्यक्तिलाई भारतीय पक्षले नै उठाएर लगेका छन् । प्रहरीले पक्राउ गर्न खोज्दा गुहार मागेपछि भारतीयहरु नेपाली सीमा क्षेत्रमा प्रवेश गरेर प्रहरीलाई आक्रमण गरेका थिए । भारतीयहरुको आक्रमणमा परी ३ जना प्रहरी घाइते भएको डीएसपी भण्डारीले बताए ।
प्रहरीले १ जना भारतीयलाई हतियार सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराजगंज फरेना बस्ने अन्दाजी बर्ष ५२ को झिनक धोबी रहेको प्रहरीले पुष्टि गरेको छ । उनीबाट मेड इन युएसए लेखेको १ थान अटोमेटिक पेस्तोल बरामद भएको प्रहरी प्रवक्ता डिएसपी भण्डारीले बताए ।#onlinekhabar.com