परासी, १२वैशाख । नवलपरासी जिल्लाभित्रका स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले पश्चिम नवलपरासीमा पहिलो पटक लघु, घरेलु र साना उद्योगलाई केन्द्रित गरी महोत्सव सञ्चालन हुने भएको छ ।
घरेलु तथा साना उद्योग महासंघ पश्चिम नवलपरासी र जिल्ला महिला उद्यमी समितिले स्थानीय उत्पादनलाई मात्रै महत्व दिएर जिल्लामै पहिलो पटक लघु, घरेलु तथा साना उद्योग महोत्सव एवं प्रविधि प्रर्दशनी सञ्चालन गर्न लागेको हो । आज आयोजित पत्रकार सम्मेलनमा महासंघका जिल्ला अध्यक्ष मेघराज गौतमले स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणमा महोत्सवले सहयोग गर्ने अपेक्षा लिईएको बताए ।
यही वैशाख १८ देखि २२ गतेसम्म जिल्ला सदरमुकाम परासीमा आयोजना हुने महोत्सवको तयारी तीव्र रुपमा भईरहेकोे छ । ४० स्टल र दुई करोड रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य राखिएको महोत्सवमा २० हजारबढी दर्शकले अवलोकन गर्ने अध्यक्ष गौतमले बताए ।
अध्यक्ष गौतमले भने–“लघु तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको प्रवद्र्धन हुन नसक्दा उचित बजारीकरण भएको छैन्, उद्यमीहरुले सस्तो मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको छ ।”
महोत्सवमा प्रमुखताका साथ स्थानीय उत्पादनलाई महत्व दिईएको छ । अध्यक्ष गौतमले भने–“जिल्ला भित्रका स्थानीय उत्पादनलाई हामीले महत्व दिएका छौँ, उद्योगसँगै वस्तु उत्पादनमा प्रयोग हुने प्रविधि पनि प्रर्दशनीमा राखिनेछ, ४५ प्रकारका स्थानीय उत्पादनले स्टल राख्न बुकिङ गरिसकेका छन् ।”
यस किसिमको महोत्सवले स–साना पुँजी र स्थानीय कच्चापदार्थमा आधारित उद्योगको प्रवद्र्धन हुनुको साथै अवसरको खोजीमा रहेका बेरोजगार यूवाहरुलाई उद्यममा लाग्न प्रेरित गर्ने थलो समेत बन्ने जिल्ला महिला उद्यमी समितिकी सभापति तारा आचार्यको भनाई छ ।
महासंघ रामग्राम नगर समितिका अध्यक्ष एवं महोत्सव प्रवक्ता मुुक्ति पौडेलले प्रर्दशनीमार्फत लघु उद्यमीले उत्पादन गरेका मौलिक वस्तुको दीगो बजार पहुँच हुने, अन्य व्यक्तिलाई पनि उद्यमी बन्न प्रेरित गर्ने, उद्यमी–उद्यमीबीच सहकार्य र सम्पर्क बढ्ने, नविन खोज अविस्कार तथा अनुसन्धानमा टेवा पुग्ने बताए ।
“जिल्लामा हाम्रा उत्पादनलाई प्रवद्र्धन र बजारीकरण गर्ने उचित थलो नहुँदा काठमाडौँ, पोखरा लगायतमा क्षेत्रमा हुने लघु उद्यमी महोत्सवहरुमा पुग्नु परेको छ, अहिले आफ्नै जिल्लामा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने अवसर आएको छ”–त्रिवेणी पटेर उद्योग सुस्ता–२ की सञ्चालिका कल्पीदेवी चौधरीले भनिन् ।
महोत्सवमा उद्यमीहरुले उत्पादन गरेका मौलिक घरेलु वस्तुसहित उत्पादनमा प्रयोग हुने प्रविधिको समेत स्वयम् उद्यमीले नै प्रवद्र्धन गर्नेछन् । उद्यमीले स्टल प्रयोग गरेबापत शुल्क लाग्ने छैन् भने उद्योगबाट प्रविधि प्रर्दशनी स्थलसम्म ल्याउँदा लाग्ने यातायात खर्चसमेत आयोजकले व्यहोर्ने गरी व्यवस्था मिलाईएको महासंघका कार्यक्रम अधिकृत रमेश भुषालले बताए ।
पश्चिम नवलपरासीमा ढाकाका कपडा, पटेर,काठ/ढुङ्गा/धातुका कलात्मक वस्तु, भाँडाकुँडाहरु, बाँस बेतवासबाट निर्मित सजावटका सामानहरु, नेपाली हाते कागजका वस्तुहरु, परम्परागत हस्तकलाका सामानहरु, कृषि तथा वनमा आधारित उत्पादनहरु, मह, माटोका भाँडा, ढिकी जाँतो, मोही पार्ने ठेकी, बेल जुस लगायतका मौलिक वस्तुहरुको उत्पादन हुँदै आएको महासंघका केन्द्रीय सदस्य बुद्धिमाया सुनारले जानकारी दिइन् ।