काठमाडौं, १० बैशाख । आफूखुसी एन्टिबायोटिकको प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर समस्या आउने गरेको पाइएको छ । चिकित्सकको सल्लाहअनुसार मात्र एन्टिबायोटिकको प्रयोग गनुपर्ने स्वास्थ्य विज्ञहरु बताउँछन् ।
शरीरमा विभिन्न किसिमका हानिकारक कीटाणु (ब्याक्टेरिया) का कारण हुने संक्रमण रोक्न एन्टिबायोटिक औषधीको प्रयोग गरिन्छ । तर सामान्य घाउ र रुघाखोकीजस्ता समस्यामा यसको प्रयोग गर्ने गलत प्रवृत्ति बढिरहेको छ । शरीरमा एन्टिबायोटिकको मात्रा बढेमा यसले काम गर्न छोड्छ , औषधी प्रभावहीन भएपछि बिरामी मृत्युको मुखसम्म पनि पुग्न सक्ने चिकित्सकहरुले बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापदण्ड तथा नियन्त्रण तथा नियमन प्रमुख डा. दिपेन्द्ररमण सिंहले चिकित्सकले चाहिनेभन्दा बढी एन्टिबायोटिक सिफारिस गर्ने र बिरामीले पनि चिकित्सकले भनेअनुसार औषधी सेवन नगर्ने गर्दा एन्टिबायोटिकको प्रयोग बढ्दै गएको बताए । “सरकारले एन्टिबायोटिकको बढ्दो प्रयोग रोक्न कमिटी गठन गरिसकेको छ”, उनले भने, “ एन्टिबायोटिकको प्रयोग खाद्यन्हमा र पशुपंक्षीमासमेत रोक्नुपर्छ ।”
त्यसैगरी गत माघदेखि एन्टिबायोटिकको प्रयोगमा रोक लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रणनीति बनाइरहेको छ । सो रणनीतिमा औषधी ऐनमा चिकित्सक, स्वास्थ्यकर्मीले नागरिकलाई जथाभावी एन्टिबायोटिक दिनु हुँदैन भनिएको छ । तर सचेतनाको कार्यक्रम गरेपछि मात्रै कारबाही प्रक्रियामा जान सकिने डा. सिंहले बताए ।
एन्टिबायोटिकले पारेको नकारात्मक असरको बारेमा जनचेतना जगाउनका लागि हाल स्वास्थ्य सचिवको संयोजकत्वमा टेक्नोलोजी समिति बनिसकेको छ । तर एन्टिबायोटिक प्रयोग कृषि र पशुमा पनि भएको हुँदा दुरुपयोगलाई नियन्त्रण गर्न सम्बन्धित मन्त्रालयको सहभागितामा राष्ट्रिय निर्देशन समिति पनि गठन गरिएको छ ।
स्वास्थ्य सचिवको संयोजकत्वमा टेक्नोलोजी समितिका सदस्य एवम् त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को फर्माकोलोजी विभागका सहप्राध्यापक डा. सतिश देवले एन्टिबायोटिकको दुरुपयोगबारे जनचेतना नहुँदा औषधी सेवनमा लापरबाही हुने समस्या बढीरहेको बताए । “यो समितिले एन्टिबायोटिकको बारेमा सचेतना, एन्टिबायोटिक प्रयोग गर्ने तरिका, इन्फेक्सन हुन नदिनेलगायतका काम गर्ने छ”, उनले भने, “ एन्टिबायोटिक बढी प्रयोग गर्दा शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ ।”
स्वास्थ्य विज्ञहरुका अनुसार एन्टिबायोटिक ‘ख’ वर्गको औषधिमा पर्छ । यस वर्गको औषधी चिकित्सकको सल्लाहबिना बेच्नै नहुने नियम छ । तर अझै पनि खुल्लारुपमा बिक्रिवितरण भइरहेको पाइन्छ ।
त्यस्तै मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले चिकित्सकको सिफारिस बिना बिरामीले औषधी किन्ने नहुने सुझाव दिए । उनले भने, “फार्मेसी पसल र औषधी पसल सञ्चालकले पनि बिना प्रिस्क्रिप्सन आफूखुसी औषधी दिनुहुँदैन ।”
विश्व स्वास्थ्य संगठनकाअनुसार हरेक वर्ष एन्टिबायोटिकको प्रयोगबाट विश्वमा ७ लाख मानिसको मृत्यु हुने गरेको छ । संगठनले एन्टिबायोटिक औषधीको गलत प्रयोग गरेकै कारण विश्वमा हरेक ४५ सेकेन्डमा एक जनाले ज्यान गुमाइरहेको जनाएको छ ।
संगठनले सन् २०५० मा एन्टिबायोटिकको प्रयोगका कारण मृत्यु हुनेको संख्या एक करोड पुग्ने प्रक्षेपण गरेको छ । यसको प्रभाव विकसित देशभन्दा अविकसित देशहरुमा बढी देखिने उल्लेख छ । जथाभावी एन्टिबायोटिकको प्रयोग हुने दक्षिण एशियाली मुलुकहरु एन्टिबायोटिक रेसिस्टेन्सको उच्च जोखिममा रहेकोसमेत संगठनले जनाएको छ ।
पशु, तरकारी र फलफूलमासमेत एन्टिबायोटिकको अत्यधिक प्रयोग बढेकाले अप्रत्यक्ष रूपमा उपभोक्तासमेत यसको मारमा परेका छन् । मानव स्वास्थ्य, पशु, रूखबिरुवा र वातावरण सबैको एन्टिबायोटिकसँग प्रत्यक्ष सम्बन्ध छ । सबैमा यसको असर परिरहेको छ । #बारहखरी