उखु किसानलाई तत्काल अनुदान दिनुपर्छ: सांसद त्रिपाठी

0
299

काठमाडौं, ९ बैशाख । प्रतिनिधिसभाका सदस्य हृदेश त्रिपाठीले तत्काल उखु किसानलाई अनुदान प्रदान गर्न माग गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा बोल्दै त्रिपाठीले यस्तो माग गरेका हुन् । उनले भने,‘अहिले उखु किसानहरु ठूलो मारमा छन् । सरकारको अकर्मण्यता र चिनी मालिकहरुको उदण्डताका कारण उखु किसानहरु ठूलो मारमा परेका छन् । उनीहरुलाई तत्काल सरकारले ७० प्रतिशत र चिनी मिल सञ्चालकहरुले ३० प्रतिशत अनुदान दिनुपर्छ ।’

उनले भने, ‘चिनी मिलहरु डेढ महिना ढिलो चलेको र अहिले केही मिलहरु बन्द छन् । यसको प्रत्यक्ष असर उखु किसानहरुलाई परेको छ । सर्लाहीमा २ र नवलपरासीमा एउटा मिल बन्द भएको छ । नवलपरासीमा मात्रै झण्डै तीन लाख क्विन्टल उखु खेतमै छ । उता सर्लाहीमा पनि चार लाख क्विन्टल जति उखु खेतमै छ ।’

सरकारको अकर्मण्यताका कारण उखु किसानहरुले खेतमै उखु आगो लगाउनुपर्ने अवस्था सिर्जना भएको पनि उनको आरोप छ । उनले भने,‘चिनी मिल सञ्चालकहरुले डेढ महिना ढिलो मिल सञ्चालन गर्दा पनि यो सरकार मुकदर्शक भएर बस्यो, मिल सञ्चालकहरुमाथि कुनै हस्तक्षेप गर्न सकेन् । जसको कारण आज किसानहरु ठूलो मारमा परेका छन् ।’

किसानलाई समयमै भुक्तानी नदिने र चिनीको भाउ मनोमानी ढंगले बृद्धि गर्ने काम हुँदा पनि सरकारले केही गर्न नसकेको उनको आक्रोश छ । उनले भने, ‘यस्तो अवस्थामा अब किसानको खेतमा बाँकी रहेको उखु हेरेर ७० प्रतिशत अनुदान सरकारले दिनुपर्छ । र, ढिलो मिल चलाएको कारण मिल सञ्चालकहरुले पनि ३० प्रतिशत अनुदान दिनुपर्छ ।’ उनले नयाँ बजेट बन्ने प्रक्रियामा रहेको सुनाउँदै यो माग बजेट बन्नुपुर्व नै व्यवस्थापन गरिसक्नुपर्नेमा जोड दिए ।

त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई सार्थक तुल्याउने हो भने किसानलाई पहिले सुखी तुल्याउनुपर्ने बताए । उनले भने,‘अहिलेपनि ६५ प्रतिशत जनसंख्या किसान छ । उनीहरु सुखी नभएसम्म मुलुक समृद्ध हुँदैन् ।’

आफूले किसानहरुको समस्या समाधान गराउने उद्देश्यले मन्त्रीहरुको पटक–पटक ध्यानाकर्षण गराईसकेको पनि उनले जनाए । उनले भने,‘सरकारले अविलम्ब स्थानीय सरकारलाई निर्देशन दिनुपर्छ । जुन जुन जिल्लामा समस्या छ, ती जिल्लाका अनुमानित लागत लिएर उनीहरुलाई अनुदान दिनुपर्छ ।’ #राताेपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here