प्रि–मनसुन बढी सक्रिय, देशभर वर्षाः गड्याङ्गुडुङ हुँदा के गर्ने ?

0
322

काठमाडौं, २६ चैत । प्रि–मनसुन बढी सक्रिय हुँदा देशभरको मौसममा बदली आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशैभरको मौसममा बदली हुनेछ । यसैगरी तराईका कतिपय भूभागमा आज र भोलि पनि हावा हुरीकोे सम्भावना रहेको जनाइएको छ ।

मौसमविद् सुजन सुवेदीका अनुसार आज मध्य नेपाल र पूर्वी नेपालमा सामान्यतः बदली हुनेछ । पश्चिमतर्फ सामान्य र अन्यतर्फ आंशिक बदली देखिएको उनले जानकारी दिए । “मध्य र पूर्वी भागमा मेघगर्जनसहित वर्षा भइरहेको छ,” उनले भने, “आज दिनभर नै मध्य र पूर्वी नेपालमा बदली नै रहनेछ ।”

अहिले प्रि–मनसुन बढी सक्रिय हुँदा देशभरको मौसममा बदली आएको उनको भनाइ थियो । “एउटा सिष्टम आउँछ । त्यसले गतिविधि देखाउँछ,” उनले भने, “त्यो कम हुनासाथ अर्को आउँछ । क्रमिक रुपमा घट्छ अर्को आउँछ, त्यो क्रम जारी रहन्छ, त्यसैले भोलिबाट नै मौसममा सुधार आउँछ भन्ने अवस्था छैन,” उनले भने ।

तर पश्चिमतिर भने आजै दिउँसोतिरबाट सुधार आउन सक्ने उनले बताए । यसैबीच राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले नेपालमा वार्षिक करिब ८२ जनाको चट्याङकै कारण मृत्यु हुने जानकारी दिँदै गड्याङगुडुङ हुँदा क्षति न्यूनिकरणका उपायहरु सुझाएको छ ।

घरबाहिर हुँदा अग्लो र एक्ले रुखमा ओत नलाग्ने, पौडिने, माछा मार्नेजस्ता काम नगर्ने, खुला मैदानमा नरहने, धातुको तारबारको नजिक नबस्ने, मैदानमा लतमन्न परेर नसुत्ने, मानिसको समूह वा झुण्डमा नरहने, फुटबल, क्रिकेट, गल्फजस्ता खेल तत्काल बन्द गर्ने,जंगलमा भए यहाँ रहेका साना रुखका बीचमा बस्ने, घर वा गाडीभित्र झ्याल बन्द गरेर बस्ने, खुला मैदानमा परे दुई घुँडाबीच टाउको लुकाइ टुक्रुक्क बस्न सुझाव दिएको छ ।

त्यसैगरी घरभित्र हुँदा विद्युतीय सामग्री प्रयोग नगर्ने, तारसहितको टेलिफोनमा कुरा नगर्ने, घरबाट बाहिर ननिस्कने, धारामा नुहाउने, भाँडा माझ्ने काम नगर्ने, झ्याल ढोका बन्द गरेर बस्ने, सकेसम्म भित्तादेखि टाढा बस्ने लगायतका काम गर्न सुझाव दिएको छ । #बारहखरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here