राप्रपा कार्यकर्तामाथि यसरी बर्सियो प्रहरीको लाठी : ३० जना नेता–कार्यकर्ता घाइते

0
353

काठमाडौं, २५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको लाठीचार्जबाट ३० जनाभन्दा बढी नेताकार्यकर्ता घाइते भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बाह्रखरीलाई जानकारी दिएका छन् ।

सोमबार दिउँसो हिन्दु राष्ट्रको माग गर्दै प्रदर्शनमा उत्रिएका राप्रपाका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेको थियो । तर, कार्यकर्ताले अवरोध गरेपछि प्रहरीले प्रदर्शनीमार्गमा लाठीचार्ज गरेको श्रेष्ठले बताए ।

प्रवक्त मोहन श्रेष्ठले बाह्रखरीसँग भने, “हाम्रो पूर्वनिर्धारित शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको छ । शान्तिपूर्ण आन्दोलन गर्न पाउने संविधानप्रदत्त अधिकारमाथि प्रहरीले गरेको हस्तक्षेपको हाम्रो पार्टीले निन्दा गरेको छ ।”

प्रहरीको लाठीचार्जबाट घाइते भएकाको काठमाडौं मोडेल अस्पतालमा उपचार भइरहेको श्रेष्ठले जानकारी दिए । राप्रपाले हिन्दुराष्ट्र पुनःस्थापनाको अभियान भन्दै सोमबार काठमाडौंसहित देशैभर प्रदर्शन र १ घण्टा धर्ना कार्यक्रमको आयोजना गरेको थियो । राप्रपाले काठमाडौंमा दिउँसो १२.३० बजेदेखि २.०० बजेसम्म रत्नपार्क, बागबजार, पुतलीसडक क्षेत्रमा प्रदर्शन गर्ने पूर्व जानकारी गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here