काठमाडौं,१५ चैत । धादिङको गजुरी गाउँपालिका–७ पेटारस्थित ‘तीर्थ’ भन्ने सुकमान तामाङको घरबाट प्रहरीले ठूलो परिणाममा लागुऔषध चरेस र गाँजाको धुलो बरामद गरेको छ ।
बिहिबार चरेस तयार गर्ने कारखानामा छापा हानेर ११० किलो चरेस र ५३२ किलो चरेस बनाउन तयार पारिएको गाँजाको धुलोसहित एक जनालाई नियन्त्रणमा लिइएको लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख (डीआईजी) दिनेश अमात्यले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा ‘तीर्थ’ भन्ने सुकमान तामाङको श्रीमती बर्ष ४५ की सुकुमाया तामाङ रहेकी छिन् । गजुरी–७ स्थित पेटारमा सुकमान दम्पतीले आफ्नो घर र भैंसी बाँध्न प्रयोग हुने गोठमा चरेस उत्पादन गर्ने कारखाना नै सञ्चालन गरेको पाइएको छ ।
धादिङ र मकवानपुरका पहाडी वस्तीहरुमा उत्पादन हुने गाँजा तथा चरेस भारततर्फ निकासी हुने गरेको छ । सुकुमाया र सुकमान दम्पती मिलेर लामो सयमदेखि चरेस कारोबार गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार सुकमान तामाङ फरार भएका छन् । उनको खोजी भइरहेको बताइएको छ ।