परासी, १४ चैत । गण्डक नदीमा निर्माणाधिन कार्यहरुको अनुगमन गर्ने नेपाली पक्षको सम्बन्धित निकायलाई अनुगमन गर्ने अधिकार प्राप्त छ तर स्टिमेट उपलब्ध नभएकाले अनुगमन गर्न सकिएको छैन । नेपाल भारत सम्झौता अनुसार गण्डक नदीको बाँध र तटबन्ध निर्माण कार्य भारतले आफनो बजेटबाट गर्ने र त्यसको अनुगमन नेपाली पक्षका सम्बन्धित कार्यालयले गर्ने सहमति भएपनि हुने निर्माण कार्यको स्टिमेट उपलब्ध नहुने कारणले योजनाहरुको अनुगमन हुन सकिरहेको छैन ।
नदीको बाँध तथा तटबन्ध निर्माण एवं मर्मत कार्य भारतले गर्दा सो ठेक्का पनि भारतीय पक्षका ठेकेदारले नै लिने गरेका छन् । कामको ठेक्का लिएका ठेकेदार र ठेक्का लगाउने सम्बन्धित निकायल, सो निर्माण कार्यको अनुगमनकारी निकाय सम्पर्क तथा भु–आर्जन कार्यालय, (लाईजन) बालमिकी नगरलाई अहिलेसम्म स्टिमेट उपलब्ध नगराएकाले अनुगमन कार्य प्रभावित बनेको कार्यालय प्रमुख तारा सिंह थापाले जानकारी दिए ।
उनले भने ‘‘अहिले गण्डक नदीको ठोकर नम्बर ६ र ७ मा स्परको तटबन्ध कार्य भैरहेको छ, सो योजना कति रकमको हो र कस्तो मेटेरियल प्रयोग गर्ने हो र कहिले सम्पन्न हुने भन्ने विषयमा केहि जानकारी छैन, योजनाको स्टिमेट माग्दा माग्दा थाकियो तर अहिलेसम्म पनि भारतीय ठेकेदार र सम्बन्धित निकायका साईट ईन्जिनियरहरुले स्टिमेट दिएका छैनन्” कसरी अनुगमन गर्ने उनी जिकिर गरे । पहिला देखि नै भारतीय ठेकेदारहरुले नेपाली पक्षलाई वेवास्ता गर्दै आफनै शुरतालमा सोही नदीको बाँध नजिकैबाट गिट्टीबालुवा र ढुङ्गाहरु उत्खनन गरि गुणस्तरहिन कार्य समेत गरिरहेका छन्, रोक्न जाँदा स्टिमेटमा यहि छ भन्दै झुक्याउदै आएको उनले बताए ।
नेपाल–भारत सम्झौता अनुसार सो नदीबाट कुनै नदीजन्य पदार्थ कसैले पनि झिक्न नपाउने सहमति रहेपनि भरतीय ठेकेदारहरु भारतीय साईट ईन्जिनियरहरुलाई प्रलोभनमा पारी सोही नदीबाट गिट्टीबालुवा र ढुङ्गाहरु झिकी मोटो रकम पचाउने गरेको गण्डक नदी नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ताले आरोप लगाए ।
उनी भन्छन्, नदीमा निर्माण कार्य गर्ने ठेकेदार र साईट ईन्जिनियरहरु लाईजन, गण्डक सिँचाई व्यवस्थापन डिभिजन सेमरी, गण्डक नदी नियन्त्रण संघर्ष समिति र जिल्ला प्रशासन कार्यालय समेतलाई स्टिमेट उपलब्ध गराउनमा आलटाल गर्दै गुणस्तरहिन कार्य गरि लाखांै रुपैया अनियमितता गर्दै आएका गुप्ताले आरोप लगाए ।
अहिले भैरहेको तटबन्धको कार्य भारतीय महाकाल एसोसिएट्स गोरखपुर कम्पनीले करोडो रुपैयामा ठेक्का पाएको छ । ठेकेदारले स्टिमेट अनुसार तारजाली, सीमेन्ट र राव मेटिरियल प्रयोग गरेको छैन अर्काे तर्फ सोही नदीबाट गिट्टीबालुवा, ढुङ्गा निकाली गुणस्तरहिन कार्य गरिरहे स्थानियले बताए ।
भारत सरकारले बर्षेनी गण्डकमा कराडांै रुपैया लगानी गर्छ तर ठेकेदारहरु कर्मचारीको मिलोमतोमा गुणस्तरहिन काम गरि ठुलो बजेट पचाउने कार्यले गण्डकमा लगानी बालुवलामा पानी हाले जस्तै भएको स्थानिय बताउछन् । यस्तै गुणस्तर हिन कार्यले बाँध झनै कमजोर हुदै गएछ जसबाट गण्डक क्षेत्रका साबिक पक्लिहवा, नर्सही, कुडिया, त्रिबेणि सुस्ता, गुठीप्रसौनी, सुर्यपुरा, बैदौली, सोमनी, प्रतापपुर, जमुनिया, खैरटहवा, भुजहवा, रामपुरखडौना गरि १३ वटा गाबिसहरु डुबानमा पर्ने खतरा देखिन्छ ।