परासी, १२ चैत । जिल्ला प्रहरी कार्यालय नवलपरासीले प्रतिबन्धित नेकपा(विप्लव) समुहका जिल्ला ईन्चार्ज सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले विप्लवको गतिविधिलाई कडा निगरानी गर्दै जिल्ला ईन्चार्ज गंगा ज्ञवाली (सुमन) र जिल्ला कार्यकर्ता धनबहादुर मर्दनियालाई पक्राउ गरेको हो ।
गत फागनु २९ गते विप्वलको नेपाल बन्दको राती पश्चिम नवलपरासीको सरावल गाउँपालिका १ तुल्सीपुरमा रोकि राखिएको दुई ट्रकमा आगजनी गरेको घटनालाई अनुसन्धान गर्र्दै प्रहरीले नेकपा विप्लवको जिल्ला ईन्चार्ज सुमनलाई पक्राउ गरेको हो भने गएराती धन बहादुरलाई पनि उनकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्लामा शान्ती सुरक्षा कायम राख्न र विप्लवका कार्यकर्ताहरु माथि कडा निगरानी बढाएको छ ।
सुमन प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) पार्टी हुँदा नवलपरासी जिल्लाका कार्यालय सचिव थिए । पछि पार्टीमा दुई लाइन संघर्षसँगै मोहन वैद्य नेतृत्वको टोलीले छुट्टै पार्टी गठन गरे पछि उनी वैद्य नेतृत्वको पार्टीमा रहे । पछि विप्लवले वैद्यसँग छुट्टिएर छुट्टै पार्टी बनाए पछि उनी विप्लवको पार्टीमा लागेका थिए । खैरहनीमा बस्दै आएका सुमन केही समय अर्घाखाँचीको जिल्ला इन्चार्ज भएर पनि काम गरे तर अहिले उनी नवलपरासी इन्चार्ज भएर पुन नवलपरासी आएका थिए ।
त्यस्तै नेकपा विप्वलकाे जनपरिषदका प्रमुख दानबहादुर आचार्यलाई पनि विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीस्थित उनकै घर नजिकैबाट आज दिउँसो पक्राउ गरिएको छ । विप्लव नेतृत्वको नेकपामाथि निगरानी बढाउदै जनपरिषद् प्रमुखलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएकाे छ ।