कावासोती, १ १ चैत । पुर्वी नवलपरासीकाे बुलिङटार गाँउपालिकाका अध्यक्ष र कर्मचारीको विवाद जिल्ला प्रशासन कार्यालय नवलपुरमा मिलेको छ । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालका अनुसार कर्मचारीले कानुन बमोजिम काम गर्ने र गाँउपालिका अध्यक्ष र जनप्रतिनिधिले कानुन बमोजिमका काममा सहयोग गर्ने सहमतिपछि बिवाद मिलेको बताएका छन् । गत बिहीबारदेखि बुलिङटार गाँउपालिकाका अध्यक्ष शशिकिरण वस्ताकोटीले ३ कर्मचारीहरुलाई लखेटेपछि ती कर्मचारीहरु सदरमुकाम कावासोतीमा आएर बसेका थिए ।
आफूले भने अनुसारको काम नगरेको भन्दै गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृतसहित तीन जनालाई लखेटेका थिए । गत बिहीबारदेखि अध्यक्षका कारण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण अधिकारी, लेखापाल रघु काफ्ले र इन्जिनियर संजय कुमाल कार्यालय छाडेका थिए ।
प्रमुख प्रशासकिय अधिकृत अधिकारीका अनुसार स्थानीय तहमा भएका नदीजन्य पदार्थ ठेक्का टेण्डरमा लैजाने कुरामा नै गाउँपालिकाका अध्यक्षको चित्त नबुझेको कारण विवाद देखा परेको बताएका थिए । उनले टेण्डर गरिसकेपछि पनि गाउँपालिकाका अध्यक्ष आफैले नै खोलामा ट्रयाक्टर हाल्न लगाउने गरेपछि प्रहरी प्रशासन लगाइएको तर प्रहरी प्रशासनले समेत नियन्त्रण गर्न नसकेपछि आफै खोलामा पुगी जबरजस्ती नदीजन्य पदार्थ निकासी गर्ने ढुवानीको साधन नियन्त्रणमा लिइएको बताएका थिए ।
गाँउपालिकाका अध्यक्ष वस्ताकोटीले यहाँ जनप्रतिनिधिको राज चल्छ, कर्मचारीको राज चल्दैन, जनता उठाएर लखेटिन्छ भनेर धम्की दिएपछि ज्यान जोगाउन आफूहरु कार्यालयमा बस्न नसकेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।