चितवन,चैत ५ । नवलपुरको गैडाकोटमा आजदेखि ‘फन पार्क’ संचालनमा आएको छ । लामो समय विदेशमा बसेर काम गरेका गैडाकोट नगरपालिका ५ का लक्ष्मी प्रसाद सापकोटा र नारायण प्रसाद सापकोटाले ‘फन पार्क’ संचालनमा ल्याएका हुन् । ‘फन पार्क’को आज एक कार्यक्रमका विच गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेल र उपप्रमुख विष्णुकुमारी कंडेलले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले आन्तरिक पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । उहाँले विदेशमा रहेका नगरबासीलाई नेपाल फर्केल लगानी गर्न आग्रह गर्नुभयो । नगरपालिकाले हरेक वडामा पार्कको अवधारणा अघि सारेको भन्दै उहाँले नीजि क्षेत्रसंग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । यस्तै उपप्रमुख कंडेलले ‘फन पार्क’ बालबालिकादेखि बृद्धसम्म लाभाम्वित हुने बताउनुभयो ।
दुई विगाहा क्षेत्रफलमा फैलिएको ‘फन पार्क’मा होटल रेष्टुरेष्टसंगै स्वीमिङ पुल, स्टिम र साउना वाथ, पार्टी प्यालेस,सभाहल लगायतका सेवा उपलब्ध रहेको सञ्चालक नारायण सापकोटाले जानकारी दिनुभयो । फनपार्कमा पिङ, चिप्लेटी सहित फर्नपार्क रेष्टुरेन्टमा सबै प्रकारको खाना र इटालिएन फुडको समेत व्यवस्था गरिएको उहाँले बताउनुभयो । फनपार्कमा ४० जना क्षमता सहितको रेष्टुरेन्ट, ५ वटा कटेज, २५ जना अटाउने मिटिङ हल, करिब ४ सय जनासम्म अटाउने सभा हल रहेको छ । नयाँ बर्षको अवसर पारेर स्वीमिङ तथा रेष्टुरेष्टमा विशेष छुटको समेत अफर संचालन गरेको सापकोटाले बताउनुभयो ।@नारायणी अनलाइन