भुमही, २२ फागुन । पर्यटन मन्त्री रविन्द्र अधिकारी, पर्यटन व्यावसायी आङक्षिरिङ शेर्पा लगायतको निधनले मुलुकको पर्यटन विकासमा ठूलो क्षति पुगेको पश्चिम नवलपरासीमा मंगलबार आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् ।
फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि निधन भएका पर्यटन मन्त्री अधिकारी, पर्यटन व्यावसायी शेर्पा लगायत सातै जनाको सातौ दिनको तिथिमा नेपाल पर्यटन पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाले सुनवल–११ केरवानी स्थित बाबा बर्दगोरिया धाम क्षेत्रमा आयोजना गरेको श्रद्धाञ्जली सभा तथा दीपप्रज्वलन कार्यक्रममा सहभागि वक्ताहरुले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले मन्त्री अधिकारीको निधनले नेपालको पर्यटन क्षेत्रले ठूलो क्षति व्यहोरोको भन्दै श्रद्धान्जली व्यक्त गर्नुभयो । उहाँले मन्त्री अधिकारी स्पष्ट भिजन र समृद्धिको बाहक भएको उदयीमान यूवा नेता भएको भन्दै उहाँले देखेका सपना पुरा गर्न सके मात्र सच्चा श्रद्धान्जली हुने बताउनुभयो ।
सुनवल नगरपालिकाका प्रवक्ता एवं वडा नं १३ का वडाध्यक्ष कृष्णप्रसाद देवकोटाले मन्त्री अधिकारीको निधनले पर्यटनसँगसँगै देशले नै ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्नुभयो । मुलुकलाई पर्यटनको माध्यमबाट समृद्धिको दिशातर्फ अगाडि बढाउन तल्लीन रहेका अधिकारीको सपना अव सवै मिलेर पुरा गर्नुपर्ने उहाँको भनाई थियो ।
नेपाल पर्यटन पत्रकार महासंघका केन्द्रीय सदस्य मोहन पौडेलले पर्यटन मन्त्री अधिकारीले छोटो समयमा नेपालको पर्यटन क्षेत्रमा पुराएको योगदान अविश्वरणीय रहेको उल्लेख गर्दै मन्त्री अधिकारीको निधनले पर्यटन पत्रकार गहिरो शोकमा परेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघका जिल्ला सचिव राजकुमार रेश्मीले पर्यटन मन्त्री अधिकारीसहित सातै जनाको निधनले मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको बताउनुभयो । बाबा बर्दगोरिया धाम क्षेत्र विकास समितिका सल्लाहकार उपेन्द्रमान प्रधानले पर्यटन मन्त्रीको काम र उत्साहले नेपालीले गरेको ठूलो आशा भत्कीएको विचार व्यक्त गर्नुभयो ।
नेपाल पर्यटन पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष नारायण भण्डारीको अध्यक्षता तथा सचिव राजु पोखरेलको सञ्चालन रहेको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी, पर्यटन पत्रकार महासंघका सल्लाहकारहरु, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।