परासी, २० फागुन । धार्मिक महत्व भएर पनि वर्षाैँदेखि ओझेलमा रहेको शिवपार्वती सिद्धधाम(लोहरौली)लाई पर्यटकीय स्थलको रुपमा विकास गरिने भएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं ४ लोहरौलीमा अवस्थित उक्त धामलाई गाउँपालिकाले पर्यटकीय स्थलको रुपमा विकास गर्न लागेको हो ।
हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र शिवपार्वती सिद्धधाम धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र हो । ऐतिहासिक महत्वको उक्त स्थल ओझेलमा पर्दै गएपछि गाउँपालिकाले पर्यटक आकर्षित गर्न धार्मिक पर्यटन प्रवद्र्धन हुने गरी विकास गर्न लागेको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक) बताउनुहुन्छ ।
सदरमुकाम परासीबाट ५ कि.मी.दक्षीण परासी– महेशपुर सडक खण्डको दायाँ भागमा अवस्थित यस स्थल रमणीय वातावरणले भरिपूर्ण छ । उचित प्रचारप्रसार र विकास नहुँदा यो स्थान ओझेलमा पर्दै आएको थियो ।
चारैतिर हरियाली बँगैचा, मनोरम वातावरण, चराचुरुङ्गीको चिरविरावट आवाज अनि मन्दिरका घण्टहरुको गुञ्जायमान वातावरणले पर्यटकलाई लोभ्याउने गरेको छ । महाशिवरात्री पर्वमा ठुलो मेला लाग्ने यो धाममा साउनको प्रत्येक सोमबार जर्लापर्ण गर्ने र जनैपुर्णीमा अर्थात रक्षाबन्धनको दिन पनि यहाँ दर्शन गर्न आउने भक्तजनको घुईँचो लाग्ने गरेको छ ।
यो स्थान हिन्दु र बौद्ध दुवै धर्म मान्नेहरुका लागि उत्तिकै महत्वपुर्ण मानिन्छ । मन्दिरको पश्चिम तर्फ हरियाली आँपको बगैँचा, अनि पुर्वतर्फ एउटा ठुलो पोखरीसँगै थरिथरिका फूलहरु फूल्दै गरेको दृश्यले पनि यहाँ आउने जो कोहीको मन लोभ्याउने गरेको स्थानीय बताउँछन् ।
यस्तो मनोरम वातावरणसँग रमाउन युवायुवतीदेखि बालबालिका र बृद्धबृद्धाहरुका लागि पनि यो ठाउँ उत्कृष्ट गनतव्यको रुपमा रहँदै आएको छ । एक पटक सो स्थानमा पुग्ने जो कोही पनि त्यहाँको मनोरम वातावरणको आनन्द लिन पटकपटक आउने गरेको स्थानीयवासी बताउँछन् ।
मन्दिरको प्रवेशद्धार नजिकै ठुलो हनुमानको मुर्ति छ । सोही मुत्र्ति नजिक धर्मशाला, सभाहल निर्माण भएको छ । सो भवनको अगाडीपट्टी जिर्ण अवस्थामा रहेको सवैभन्दा पुरानो मन्दिर छ । सोहि मन्दिरको पछाडीपट्टी एउटा ठुलो पिपलको रुख छ । केहि वर्षअघिसम्म त्यहाँ वरको पनि रुख रहेको तर पछि कसरी त्यो लोप भयो भन्न थाह हुन नसकेको स्थानीयवासी राजकुमार दास पटनवार बताउनुहुन्छ ।
अहिले त्यहाँ रहेको सो पिपलको रुखमा नै शिव र पार्वतीको उत्पत्ति भएको विश्वास गरिन्छ । सो पिपलको पात जतिसुकै हावाहुरी चलेपनि खस्दैन भन्ने मान्यता छ । पुरानो शिवपार्वतीको मन्दिरसँँगै त्यहाँ स्थानीयवासीको सहयोगबाट बनेको अन्य दुई वटा मन्दिर पनि छन् भने मन्दिरको स्थापनाकालका सवैभन्दा पहिलो पुजारी विमलानन्द गिरीको सम्झना स्वरुप एउटा सानो मन्दिर पनि निर्माण गरिएको छ ।
त्यहाँ रहेको मन्दिरलाई दुई खण्डमा बाँडीएको छ । पहिलो खण्डमा शिव र पार्वतीको मुर्ति स्थापना गरिएको छ भने अर्काे खण्डमा बुद्धको मुर्ति राखिएको भएपनि अहिले त्यहाँ बुद्धको मुर्तिको पैतलाको भाग मात्र छ । अष्टधातुबाट बनेको सो बुद्धको मुर्ति विसं. २०६४ सालतिर शरिरको भागसहित चोरी भएको बताईन्छ । यो धाम हिन्दुको मात्र होईन, बुद्ध धर्मप्रति आस्था राख्नेको पनि गन्तव्य बन्ने गरेको छ ।
यस शिवपावर्ती सिद्धधाममा आफुले ईच्छाएका पुरा हुन्छन् भन्ने विश्वास हिन्दु धर्मावलीम्बहरुमा छ ।यहाँ दुर्गा, चण्डीमाता, गणेशको मुर्ति पनि रहेको छ । प्राचिनकालिन मानिने यो मन्दिरको स्थापना कहिले र कसरी भयो भन्ने बारेमा बुढापाकाले पनि भन्न सक्दैनन् ।
कतिपयले बाबा बर्दगोरिया मन्दिरको इतिहाससँग पनि यसलाई लिने गरेका छन् । यति महत्वपुर्ण धार्मिक स्थल र पर्यटकीय स्थलको गतिलो गनतव्य हुने सम्भावना बोकेको यो मन्दिरको उचित विकास गरी पर्याप्त धार्मिक पर्यटक भित्राउने गरी काम थालनी गरिएको गाउँपालिका अध्यक्ष गुप्ता बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ–“विगतमा मन्दिरको उचित प्रचारप्रसार नहुनु, स्थानीयवासीले मन्दिरप्रति चासो नराख्नु, सरकारी स्तरबाट यसको संरक्षण, सम्बद्र्धन र विकासका लागि कुनै पहल नहुनु लगायतका कारणले मन्दिर ऐतिहासिक महत्व रहेर पनि आझेलमा परेको थियो, हामी निर्वाचित भएर आएपछि अहिले योजना बनाएर विकास गर्न थालेका छौँ ।”
पछिल्लो समयमा सांसद विकास कोषबाट पुर्वाधार निर्माणका लागि भनेर करिव साढे ९ लाख रकम आएकोमा सो मार्फत सभाहल, शौचालय, प्रवेशद्धार लगायतका संरचना निर्माण भएको धाम संरक्षण समितिले जनाएको छ ।
ऐतिहासिक, सास्कृतिक एवम् पर्यटकीय महत्व बोकेका यस्ता स्थलको खोज, अनुसन्धान गरी संरक्षण र विकासका लागि स्थानीय सरकारको हैसियतले पहल गरिरहेको गाउँपालिकाका अध्यक्ष गुप्ताको भनाई छ ।
“यहाँको उचित प्रचारप्रसार र भौतिक पुर्वाधारको विकास गर्न सके उत्कृष्ट पर्यटकीय गनतव्य बनाउन सकिन्छ, आवश्यक बजेट र योजना बनाएर हामी लागिरहेका छौँ”,उहाँले भन्नुभयो – “यहाँको विकास गर्न सके स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढाउन सकिनुका साथै आम्दानी र रोजगारीको पनि बाटो खुल्ने प्रशस्त सम्भावना छ,यसका लागि स्थानीयले पनि सक्रियता पुर्वक चासो लिनु पदर्छ ।”