काठमाडौं, २० फागुन । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धी असान्दर्भिक भइसकेकोले सो सन्धीपछि नेपालले गुमाएको ५७ हजार ७३६ वर्ग किमी भूमि फिर्ताका लागि संसदमा छलफल गर्न माग गरेको छ । सो मोर्चाले सोमबार जारी गरेको वक्तव्यमा नेपाल र भारतबीच सन् १९५० जुलाई ३१ मा भएको शान्ति र मैत्री सन्धिको धारा १ र ८ अनुसार सुगौली सन्धि रद्द भैसकेको जीकिर गरिएको छ ।
वक्तव्यमा भनिएको छ,‘‘सन् १८१६ मार्च ४ मा सुगौली सन्धिमा नेपालले हस्ताक्षर गरेयता २०३ वर्ष बितिसकेको छ । बेलायतले सन् १९४७ र १९४८ मा दक्षिण एसियाली क्षेत्र छाडेपछिको समयको गणना गर्ने हो भने पनि ७३ वर्ष बितिसकेको छ । यति लामो अन्तरालमा विश्वबाट उपनिवेशको अन्त्य भैसकेको भए पनि नेपालको ५७७३६ वर्ग किलोमिटर क्षेत्रमा सन् १९४७ अगस्त १५ देखि भारतीय उपनिवेश कायम रहँदै आएको छ ।’’
मोर्चाले भनेको छ,‘‘आज नेपालले तत्कालीन राजप्रतिनिधि मार्फत मकवानपुर छाउनीमा बेलायती प्रतिनिधिलाई सुगौली सन्धिको प्रति बुझाएको दिन यसको वैधतामाथि केही अहम् प्रश्नहरू उठाउँदै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेपाल सरकारसमक्ष सो सन्धिपूर्वको जमिन फिर्ता लिन आग्रह गर्दछ ।’’
वक्तव्यमा नेपाल र बेलायतबीच सुगौली सन्धि हुँदा समान हैसियत भएका व्यक्तिहरूबिच हस्ताक्षर हुनुपर्नेमा नेपालका तर्फबाट राजाले सहीछाप गर्नुपर्ने भनिएको र बेलायतका तर्फबाट लेफ्टिनेन्ट कर्णेलले हस्ताक्षर गरेको, टेबुलमा बसेर सन्धिमा हस्ताक्षर गर्नुपर्नेमा बेलायतका तर्फबाट सुगौलीको सैनिक छाउनीमा हस्ताक्षर गरी नेपालका राजाले १५ दिनभित्र प्रतिहस्ताक्षर गर्नुपर्ने भनी हलकारामार्फत् तत्कालीन नेपाल दरबारमा सन्धिपत्र पठाइएको , नेपालका राजाले १५ दिनभित्रमा हस्ताक्षर गर्नुपर्ने भनिएकोमा ९३ औँ दिनमा मात्र राजप्रतिनिधिमार्फत् सन्धिपत्र बुझाएका,े बेलायतले सन् १९४७ जुलाई १८ को इन्डिया इन्डिपेन्डेन्स एक्ट अनुसार आफ्नो औपनिवेशिक क्षेत्र परित्याग गरेकोमा नेपाली भूमि पनि सन् १९४७ अगस्त १४ र १५ मै स्वतन्त्र भैसकेको जनाइएको छ ।
यस्तै, नेपाल र भारतबीच सन् १९५० जुलाई ३१ मा भएको शान्ति र मैत्री सन्धिको धारा १ र ८ अनुसार सुगौली सन्धि रद्द भैसकेको, नेपाल र बेलायतबीच सन् १९५० अक्टोबर ३० मा भएको सन्धिको प्रस्तावना र धारा ८ अनुसार सुगौली सन्धि रद्द भैसकेको, भारतको संविधानको धारा १ (३)(ग) अनुसार नेपाल र भारतबीच सुगौली सन्धिको अनुमोदन हुने गरी कुनै सन्धि नभएको हुँदा उक्त नेपाली भूमिमाथि भारतको कुनै अधिकार नरहने समेत दाबी गरिएको छ ।
मोर्चाका अध्यक्ष फणीन्द्र नेपालद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ,‘‘माथिका सन्दर्भहरूबाट नेपाल र भारतबिच सुगौली सन्धि कायम रहनु अवैध हो र सुगौली सन्धि बेलायत सँग भएको हुँदा भारतसँग मान्य हुने कुनै आधार रहँदैन । तसर्थ हामी सर्वसाधारण नेपाली नागरिकहरू के ( कति कारणले ५७७३६ वर्ग किलोमिटर नेपाली भूमि भारतको कब्जामा रहेको हो भन्ने जान्न उत्सुक छौँ । यो विषयमा सरकार मौन रहनुको कारण जान्न पाउनु सार्वभौमसत्तासम्पन्न नेपाली जनताको अधिकार हो । तसर्थ ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा यो विषयलाई सार्वभौम संसदमा लगेर बहस र निर्णय गरियोस् भन्ने माग गर्दछ ।’’ (बारहखरी)