परासी, १९ फागुन । पश्चिीमी नवलपरासीको सुस्ता गाउँपालिका २ महलबारीमा संचालित मदारबाबा मेलाबाट करिब १९ लाख भेटी रकम संकलन भएको छ । १२ गतेदेखि संचालित मदारबाबा मेला भर्न आएका करिब ढाई लाख श्रद्धालुबाट १८ लाख ६९ हजार १५९ रुपैया भेटी रकम संकलन भएको कुतुबुल मदारशाह दरगाह कमेटीका कोषाध्यक्ष रियाजुद्दिन अंसारीले बताए ।
मेला भर्न आएका श्रद्धालु भक्तजनहरुले बाबाको मजारमा भेटी स्वरुप केहि रकमहरु चढाउने गर्दछ । एक साता चल्ने उक्त मेलामा करिब ५ लाख भक्तजनहरु आउने अनुमान गरिएपनि मौसमको खराबीले यसबर्ष करिब ३ लाख मात्र भक्तजनहरुको आगमन हुने कुतुबुल मदारशाह दरगाह कमेटीले जनाएको छ । कमेटीका अनुसार अहिले मेलामा नेपाल भारतको विभिन्न मुख्य–मुख्य बजारबाट भक्तजनहरुको आगम भैरहेको छ । भक्तजनहरुको लागि आवास, खानपिन, शौचालय र स्नानगृह समेतको व्यवस्थापन मिलाइएको छ र यो मेला सोमबार सकिदै छ ।
मदार बाबा मुस्लिम समुदायको धर्म संरक्षकको रुपमा एक देउता हुन् जसको वास्तविक नाम हजरत बदिउद्दिन कुतुबुल मदार शाह रहमतुल्लाह अलैहे हो । उनको दरगाह सुस्ता गाउँपालिका २ महलबारी बजारमा रहेपनि मुख्य धार्मिक स्थल ‘मजार‘ महलबारी बजारबाट करिब ९ किलोमिटर पहाडमाथि मदारिया डाँडाँमा रहेकोे छ । डाँडामा अवस्थित मदार बाबाको मजारमा पुग्न सहज बाटो नभएकाले यात्रीहरुलाई पहाड चढन निकै संघर्ष गर्न पर्दछ ।
मदार बाबा ईस्लाम धर्मको वली (देउता) भएपनि उनी कहाँ हिन्दु, बौद्धिष्ट र क्रिस्चियन समेत आफनो दुख तथा मनोकामना लिएर आउने गरेको पाईन्छ । मदारबाबा स्थानमा दुखियाहरु आ–आफनो दुख तथा मनोकामना लिएर आउने र पुरा गराएर जाने धार्मिक विश्वास रही आएको मठाधिश मौलाना अमिरुल्लाह अंसारीले जानकारी दिए ।