काठमाडौं
। बुधबार डाइनेस्टी एयरको नाइन एन–ए एम आई कलसाइनको हेलिकप्टर दुर्घटना भएसँगै नेपाली हवाई इतिहासमा ९२ औं दुर्घटना भएको छ । बुधबारको दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाले ज्यान गुमाए । नेपाली हवाई इतिहासमा बुधबार भएको दुर्घटनामा बहालवाला मन्त्रीसहित राष्ट्रलाई योगदान गरिरहेका वरिष्ठ व्यक्ति तथा सरकारी कर्मचारीसमेत परे ।सन् १९४६ देखि हालसम्म आइपुग्दा नेपालमा ९४ वटा साना ठूला हवाई दुर्घटना भएको पाइन्छ । यीमध्ये ५४ वटा दुर्घटनामा चालक दलका सदस्य वा यात्रुले आफ्नो ज्यान गुमाएका छन् ।
नेपालमा भएको पहिलो हवाई दुर्घटना सन् १९४६ मे ७ मा भएको थियो । १४ जना सैनिकसहित २ जना चालक दलका सदस्य रहेको रोयल फोर्सको जहाज नेपालमा पहिलोपटक दुर्घटनामा परेको थियो । तर उक्त दुर्घटनामा मानवीय क्षति भने भएको थिएन ।
त्यसपछिको हवाई दुर्घटनाको इतिहास खोतल्ने हो भने सन् १९५५ देखि हालसम्म भएको दुर्घटनामा ७ सय ६५ जनाले दुर्घटनास्थलमै मृत्युवरण गरेका छन् । केही व्यक्तिको उपचारको क्रममा पनि मृत्यु भएको छ । यसरी हेर्दा हवाई दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ८ सयभन्दा बढी रहेको छ ।
यस्तो छ नेपालमा भएका प्रमुख हवाई दुर्घटनाको फेहरिस्त :
रोयल फोर्स एयर दुर्घटना
मिति : १९४६ मे ७
स्थान : नखुलेको
मृत्यु : ०
घाइते : ०
नेपाली हवाई इतिहासकै पहिलो दुर्घटना मानिन्छ सन् १९४६ मे ७ मा भएको हेलिकप्टर दुर्घटनालाई । यो दुर्घटनामा १४ जना यात्रु र चालक दलका दुई जना सदस्य रहे पनि यस दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । दुर्घटनाबारे विस्तृत विवरण पाउन पनि कठिन छ ।
कालिङ्गा एयर दुर्घटना
मिति : १९५५ मर्च ८
स्थान : सिमरा एयरपोर्ट
मृत्यु : २
घाइते : १
नेपाली हवाई इतिहासमा मानवीय क्षतिसहितको पहिलो दुर्घटना सन् १९५५ मार्च ८ मा भएको थियो । सिमरा एयरपार्टमा भएको कालिङ्गा एयरलाइन्सको भीटी–एटिएक्स कलसाइनको विमान दुर्घटना हुँदा २ जनाले घटनास्थलमै ज्यान गुमाए । उक्त दुर्घटनामा एकजना सख्त घाइते बनेका थिए ।
इन्डियन एयरलाइन्स दुर्घटना
मिति : १९५६ मे १५
स्थान : काठमाडौं विमानस्थल
मृत्यु : १४
घाइते : १९
कालिङ्गा एयरलाइन्सको विमान दुर्घटना भएको १४ महिनापछि काठमाडौँ विमानस्थलमै अर्को ठूलो हवाई दुर्घटना भयो । इन्डियस एयरलाइन्सको
भीटी–टीबीए कलसाइनको विमान दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाए भने १९ जना घाइते बने ।
इन्डियन एयरलाइन्स दुर्घटना
मिति : १९५७ जुलाई १९
स्थान : पाट्नेभञ्ज्याङ, टीकारभैरव
मृत्यु : २०
घाइते : ०
आफ्नो पहिलो विमान दुर्घटना भएको १४ महिनापछि इन्डियन एयरलाइन्सकै अर्को विमान टीकाभैरवमा दुर्घटना भयो । इन्डियन एयरलाइन्सको भीटी–सिवाइएन कलसाइनको जहाज दुर्घटनामा चालक दलका सदस्यसहित २० जनाको मृत्यु भयो ।
नेपाल एयरलाइन्स दुर्घटना
मिति : १९६१ मे ११
स्थान : भैरहवा विमानस्थल
मृत्यु : ४
घाइते : ०
त्यसपछि सन् १९६१ मे ११ मा नेपाल एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा दुर्घटना भयो । नाइन एन एएडी कलसाइनको विमान भैरहवा विमानस्थलमा दुर्घटना हुँदा चालक दलका सदस्यसहित ४ जनाको मृत्यु भयो ।
नेपाल एयरलाइन्स दुर्घटना
मिति : १९७३ अक्टोबर १५
स्थान : लुक्ला विमानस्थल
मृत्यु : ०
घाइते/बाँच्न सफल : ६
चौथो दुर्घटना भएको १२ वर्षपछि सोलुखुम्बुको लुक्लामा नेपाल एयरलाइन्सकै अर्को विमान दुर्घटना भयो । नाइन एन–एबीजी कलसाइनको ट्विनेटर विमान लुक्ला विमानस्थलमा दुर्घटना हुँदा चालकदलका ३ जना सदस्यसहित अन्य ३ गरी ६ जना सवार थिए । दुर्घटनामा विमान बनाउनै नमिल्ने गरी बिग्रिए पनि चालकदलका सदस्य र यात्रुलाई भने केही भएन ।
नेपाल एयरलाइन्स दुर्घटना
मिति : १९७५ मार्च ३१
स्थान : बौद्ध, काठमाडौं ।
मृत्यु : ५
घाइते/बाँच्न सफल : ०
नेपाल एयरलाइन्सकै अर्को विमान सन् १९७५ मार्च ३१ मा बौद्धमा दुर्घटना भयो । नाइन एन–एएजेड कलसाइनको नेपाल एयरलाइन्सको चार्टड विमान बौद्धमा दुर्घटना हुँदा चालकदलका सदस्यसहित सवार ५ जनाकै मृत्यु भयो ।
हेलिकप्टर दुर्घटना
मिति : १९७९ डिसेम्बर २७
स्थान : लाङटाङ ।
मृत्यु : ६
घाइते/बाँच्न सफल : ०
सन् १९७९ डिसेम्बर २७ मा भीभीआईपी सवार हेलिकप्टर लाङटाङमा दुर्घटना भयो । नाइन एन–आरएई कलसाइनको चार्टड हेलिकप्टर दुर्घटनामा चालकदलका सदस्यसहित ६ जनाकै मृत्यु भयो ।
नेपाल एयरलाइन्स दुर्घटना
मिति : १९८१ अक्टोबर ३०
स्थान : विराटनगर ।
मृत्यु : १०
घाइते/बाँच्न सफल : ०
सन् १९८१ अक्टोबर १० मा नेपाली आकाशमा अर्को दुर्घटना भयो । विराटनगर विमानस्थलमा नेपाल एयरलाइन्सको नाइन एन–एबीजे कलसाइनको चार्टड विमान दुर्घटना हुँदा १० जनाले ज्यान गुमाए ।
नेपाल एयरलाइन्स दुर्घटना
मिति : १९८४ डिसेम्बर २२
स्थान : विराटनगर ।
मृत्यु : १०
घाइते/बाँच्न सफल : ०
नेपाल एयरलाइन्सकै अर्को विमान २२ डिसेम्बर १९८४ मा चेक्लेटीडाँडामा दुर्घटना भयो । चालकदलका सदस्यसहित २३ जना यात्रु रहेको नाइन एन–एबीएच कलसाइनको विमान दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाए भने ८ जना बाँच्न सफल भए ।
थाई एयरवेज दुर्घटना
मिति : १९९२ जुलाई ३१
स्थान : घ्याङफेदी ।
मृत्यु : ११३
घाइते/बाँच्न सफल : ०
नेपाली हवाई इतिहासकै पहिलो ठूलो हवाई दुर्घटना सन् १९९२ जुलाई ३१ मा नुवाकोटको घ्याङफेदीमा भयो । थाई एयरवेजको एच एस–टीआईडी कलसाइनको एयरबस ३१० मोडलको विमान दुर्घटना हुँदा जहाजमा सवार १ सय १३ जनाकै मृत्यु भयो ।
पाकिस्तान एयरलाइन्स दुर्घटना
मिति : १९९२ सेप्टेम्बर २८
स्थान : भट्टेडाँडा, ललितपुर ।
मृत्यु : १५७
घाइते/बाँच्न सफल : ०
नेपाली हवाई इतिहासकै सर्वाधिक कहालीलाग्दो हवाई दुर्घटना सन् १९९२ सेप्टेम्बर २८ मा ललितपुरमा भयो । पाकिस्तान एयरलाइन्सको एपी–बीसीपी कलसाइनको एयरबस ३१० मोडलको विमान ललितपुरको भट्टेडाँडामा दुर्घटना हुँदा विमानमा सवार १५७ जनाकै मृत्यु भयो । त्रिभुवन विमानस्थलमा ल्यान्ड गर्न खोज्दै गर्दा विमान दुर्घटनामा परेको थियो । धेरै मानवीय क्षति भएको यो दुर्घटना नेपाली इतिहासकै सबैभन्दा ठूलो दुर्घटना हो ।
एभरेस्ट एयर दुर्घटना
मिति : १९९३ जुलाई ३१
स्थान : सोलीघोप्टे, म्याग्दी ।
मृत्यु : १८
घाइते/बाँच्न सफल : ०
थाई एयरवेजको दुर्घटना भएको ठीक १ वर्ष पुगेको दिन एभरेस्ट एयरको ट्विनअटर विमान सोलीघोप्टेमा दुर्घटना भयो । नाइन एल–एसीएल कलसाइनको विमान दुर्घटना हुँदा विमानमा सवार सबै १८ जना यात्रुको मृत्यु भयो ।
नेपाल एयरलाइन्स दुर्घटना
मिति : १९९५ जनवरी १४
स्थान : त्रिभुवन विमानस्थल ।
मृत्यु : २
घाइते/बाँच्न सफल : २३
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर विमान १४ जनवरी १९९५ मा भित्रुवन विमानस्थलमा दुर्घटना भयो । नाइन एन–एबीआई कलसाइनको उक्त विमान दुर्घटनामा २ जनाको मृत्यु भयो भने २३ जना यात्रु बाँच्न सफल भए ।
कर्णाली एयर दुर्घटना
मिति : १९९७ सेप्टेम्बर ३०
स्थान : थुप्टेन, चोलिङ ।
मृत्यु : १
घाइते/बाँच्न सफल : ४
मानवीय क्षति बेहोरेको अर्को दुर्घटना हो सन् १९९७ सेप्टेम्बर ३० को दुर्घटना । कर्णाली एयरको नाइन एन–एइसी कलसाइनको हेलिकप्टर दुर्घटना हुँदा १ जनाले ज्यान गुमाए भने ४ जना यात्रु बाँच्न सफल भए ।
कर्णाली एयर दुर्घटना
मिति : १९९८ अगष्ट २१
स्थान : चुच्चे खर्क ।
मृत्यु : १८
घाइते/बाँच्न सफल : ०
मानवीय क्षति बेहोरेको अर्को दुर्घटना हो सन् १९९८ अगस्ट २१ मा चुच्चे खर्कमा भएको दुर्घटना । नेपाल नागरिक उड्डयन प्राधिकरणको नाइन एन–एसीसी कलसाइनको चार्टड विमान चुच्चे खर्कमा दुर्घटना हुँदा विमान सवार सबै १८ यात्रुको मृत्यु भयो ।
एसियन एयरलाइन्स हेलिकप्टर दुर्घटना
मिति : १९९८ अक्टोबर २४
स्थान : मुलखर्क ।
मृत्यु : ३
घाइते/बाँच्न सफल : ०
सन् १९९८ अक्टोबर २४ मा एसिएन एयरलाइन्सको हेलिकप्टर मुलखर्क भन्ने स्थानमा दुर्घटना भयो । नाइन एन–एसीवाई कलसाइनको उक्त हेलिकप्टर दुर्घटनामा ३ जनाले ज्यान गुमाए ।
नेपाल एयरलाइन्स दुर्घटना
मिति : १९९८ नोभेम्बर २०
स्थान : फाकडिङ, सोलुखुम्बु ।
मृत्यु : १
घाइते/बाँच्न सफल : ०
सन् १९९८ नोभेम्बर २० मा सोलुखुम्बुको फाकडिङमा नेपाल एयरलाइन्सको विमान दुर्घटना भयो । नाइन एन–एबीके कलसाइनको चार्टड विमान सोलुखुम्बुको फाकडिङमा दुर्घटना हुँदा एक जनाले ज्यान गुमाए ।
नेकोन एयर दुर्घटना
मिति : १९९९ जनवरी १७
स्थान : जुम्ला ।
मृत्यु : ५
घाइते/बाँच्न सफल : ७
सन् १९९९ जनवरी १७ मा नेकोन एयरको विमान जुम्लामा दुर्घटनामा पर्यो । नाइन एन–एडीए कलसाइनको उक्त विमान दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाए भने ७ जना घाइते भए । दुई जना सख्त घाइतेमध्ये एक जनाको केही दिनपछि मृत्यु भयो ।
लुफथान्सा एयर दुर्घटना
मिति : १९९९ जुलाई ७
स्थान : भस्मासुर, काठमाडौं ।
मृत्यु : ५
घाइते/बाँच्न सफल : ०
सन् १९९९ जुलाई ७ मा लुफथान्सा एयरको विमान काठमाडौँमा दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाए । भीटी–एलसीटी कलसाइनको उक्त विमान दुर्घटना काठमाडौँकै भस्मासुर डाँडामा ठोक्किएर दुर्घटना भएको थियो ।
नेकोन एयर दुर्घटना
मिति : १९९९ सेप्टेम्बर ५
स्थान : थानकोट, काठमाडौँ ।
मृत्यु : १५
घाइते/बाँच्न सफल : ०
सन् १९९९ सेप्टेम्बर ५ मा नेकोन एयरकै अर्को विमान पनि दुर्घटनामा पर्यो । नाइन एन–एईजी कलसाइनको विमान थानकोट टावरमा ठोक्किएर दुर्घटना हुँदा विमानमा सवार १५ जनाले ज्यान गुमाए ।
स्काइलाइन एयरवेज दुर्घटना
मिति : १९९९ डिसेम्बर २५
स्थान : बुर्जो लेक, मकवानपुर ।
मृत्यु : १०
घाइते/बाँच्न सफल : ०
सन् १९९९ डिसेम्बर २५ मा स्काइलाइन एयरवेजको विमान मकवानपुरको बुर्जो डाँडामा दुर्घटना हुँदा विमानमा सवार १० जनाले ज्यान गुमाए । उक्त विमानको कलसाइन नाएन एन–एफएल थियो ।
नेपाल एयरलाइन्स दुर्घटना
मिति : २००० फेब्रुअरी २६
स्थान : बझाङ ।
मृत्यु : १
घाइते/बाँच्न सफल : ०
सन् २००० फेब्रुअरी २६ मा नेपाल एयरलाइन्सको कार्गो विमान दुर्घटनामा पर्यो । नाइन एन एबीओ कलसाइनको सिङ्गल इन्जिनको उक्त कार्गो विमानका १ चालकले ज्यान गुमाए ।
नेपाल एयरलाइन्स दुर्घटना
मिति : २००० जुलाई २७
स्थान : जोगबुढा, डडेलधुरा ।
मृत्यु : २५
घाइते/बाँच्न सफल : ०
सन् २००० जुलाई २७ मा नेपाल एयरलाइन्सकै अर्को विमान डडेलधुराको जोगबुडामा दुर्घटना भयो । नाइन एन–एबीपी कलसाइनको उक्त विमानमा चालकसदलका सदस्यसहित सवार २५ जनाकै ज्यान गयो ।
फिस्टेल एयर हेलिकप्टर दुर्घटना
मिति : २००१ नोभेम्बर १२
स्थान : रारा ताल, मुगु ।
मृत्यु : ४
घाइते/बाँच्न सफल : २
सन् २००१ नोभेम्बर १२ अर्थात् कात्तिक २७ २०५८ सालमा रारा तालमा फिस्टेल एयरको हेलिकप्टर दुर्घटनामा पर्यो । दुर्घटनामा तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहसहित ४ यात्रुको निधन भयो । दुर्घटनामा पाइलटसहित अन्य १ जना यात्रु बाँच्न सफल भए ।
स्काइलाइन एयरलाइन्स दुर्घटना
मिति : २००२ जुलाई १७
स्थान : गडगडे डाँडा, सुर्खेत ।
मृत्यु : ४
घाइते/बाँच्न सफल : ०
सन् २००२ जुलाई १७ मा स्काइलाइन एयरलाइन्सको नाइन एन–एजीएफ कलसाइनको विमान सुर्खेतको गडगडे डाँडामा दुर्घटना भयो । दुर्घटनामा चालकदलका सदस्यसहित ४ यात्रुको निधन भयो । विमानमा जम्मा ४ सदस्य सवार थिए ।
साङ्ग्रिला एयर दुर्घटना
मिति : २००२ जुलाई १७
स्थान : पोखरा, कास्की ।
मृत्यु : १८
घाइते/बाँच्न सफल : ०
सन् २००२ अगस्ट २२ मा साङ्ग्रिला एयरको विमान पोखरामा दुर्घटना भयो । नाइन एन–एएफआर कलसाइनको उक्त विमान दुर्घटना हुँदा विमानमा सवार १८ जनाकै मृत्यु भयो ।
एसियन एयरलाइन्सको हेलिकप्टर दुर्घटना
मिति : २००२ सेप्टेम्बर ३०
स्थान : सोलुखुम्बु ।
मृत्यु : ११
घाइते/बाँच्न सफल : ०
सन् २००२ को मे ३१ मा मकालु बेस क्याम्पबाट लुक्लाका लागि उडेको एसियन एयरलाइन्सको एम आई १७ हेलिकप्टर सम्पर्कविहीन भयो । लामो समयसम्म पनि उक्त हेलिकप्टरबारे केही पत्ता लागेन । चालकदलका ४ जना सदस्यसहित ७ जना यात्रु बोकेको उक्त हेलिकप्टर हराएको ठीक ४ महिनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त हेलिकप्टर दुर्घटनामा परेको र हेलिकप्टरमा सवार सबै ११ जनाको मृत्यु भएको घोषणा गर्यो ।
सिम्रिक एयरको हेलिकप्टर दुर्घटना
मिति : २००३ मे २८
स्थान : एभरेस्ट बेस क्याम्प, सोलुखुम्बु ।
मृत्यु : २
घाइते/बाँच्न सफल : ६
सन् २००३ को मे २८ मा सोलुखुम्बुमै अर्को दुर्घटना भयो । सिम्रिक एयरको एमआई १७ हेलिकप्टर एभरेस्ट बेस क्याम्पमा दुर्घटना हुँदा २ जनाको ज्यान गयो भने ६ जना बाँच्न सफल भए । नाइन एन–एडीपी कलसाइनको उक्त हेलिकप्टर पर्यटकको उद्धार गर्नका लागि एभरेस्ट बेस क्याम्पमा पुगेको थियो ।
बुद्ध एयर दुर्घटना
मिति : २००४ अप्रिल २१
स्थान : त्रिभुवन विमानस्थल ।
मृत्यु : १
घाइते/बाँच्न सफल : ०
सन् २००४ को अप्रिल २१ मा बुद्ध एयरको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना भयो । दुर्घटनामा चालकदलका एक सदस्यको मृत्यु भयो । विमानमा यात्रु नभएकाले थप कुनै क्षति भएन ।
यति एयरलाइन्सको विमान दुर्घटना
मिति : २००४ मे २५
स्थान : लामजुरा, सोलुखुम्बु ।
मृत्यु : ३
घाइते/बाँच्न सफल : ०
सन् २००४ मे २५ मा यति एयरको कार्गो विमान सोलुखुम्बुको लामजुरा भन्ने स्थानमा दुर्घटना भयो । नाइन एन–एएफडी कलसाइनको उक्त विमान दुर्घटना हुँदा चालकदलका दुई सदस्य र एक यात्रुको निधन भयो ।
यति एयरलाइन्सको विमान दुर्घटना
मिति : २००६ जुन १२
स्थान : जुम्ला एयरपोर्ट ।
मृत्यु : ९
घाइते/बाँच्न सफल : ०
यति एयरलाइन्सकै अर्को विमान सन् २००६ जुन १२ मा जुम्ला विमानस्थलमा दुर्घटना भयो । दुर्घटनामा चालकदलका सदस्यसहित विमानमा सवार ९ यात्रुको मृत्यु भयो । उक्त विमानको कलसाइन नाइन एन–एईक्यु थियो ।
श्री एयरलाइन्स हेलिकप्टर दुर्घटना
मिति : २००६ सेप्टेम्बर २३
स्थान : घुन्सा, ताप्लेजुङ ।
मृत्यु : २४
घाइते/बाँच्न सफल : ०
सन् २००६ को सेप्टेम्बर २३ मा ताप्लेजुङको घुन्सामा श्री एयरलाइन्सको एम आई १७ हेलिकप्टर दुर्घटना हुँदा २४ जनाले ज्यान गुमाए । उक्त दुर्घटनामा तत्कालीन वन तथा भू संरक्षण राज्यमन्त्री गोपाल राईसहित, योजनाविद् डाक्टर हर्क गुरुङ लगायत २४ जनाको निधन भयो । यो दुर्घटनामा पनि नेपालले देशका होनहार व्यक्तित्वहरु गुमायो ।
यति एयरलाइन्सको विमान दुर्घटना
मिति : २००८ अक्टोबर ८
स्थान : लुक्ला एयरपोर्ट ।
मृत्यु : १८
घाइते/बाँच्न सफल : १
सन् २००८ अक्टुबर ८ मा यति एयरकै अर्को विमान पनि दुर्घटनामा पर्यो । यति एयरको नाइन एन–एएफई कलसाइनको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाए भने १ जना बाँच्न सफल भए ।
अग्नि एयर विमान दुर्घटना
मिति : २०१० अगस्ट २४
स्थान : शिखरपुर, मकवानपुर ।
मृत्यु : १४
घाइते/बाँच्न सफल : ०
सन् २०१० को अगस्ट २४ मा मकवानपुरको शिखरपुरमा अग्नि एयरको विमान दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाए । नाइन एन–एएचई कलसाइनको उक्त विमान काठमाडौँ फर्कँदै गर्दा दुर्घटनामा परेको थियो ।
तारा एयर दुर्घटना
मिति : २०१० डिसेम्बर १५
स्थान : हर्कपुर, ओखलढुङ्गा ।
मृत्यु : २२
घाइते/बाँच्न सफल : ०
सन् २०१० को डिसेम्बर १५ मा ओखलढुङ्गाको हर्कपुरमा तारा एयरको ट्वीनअटर विमान दुर्घटनामा पर्यो । दुर्घटनामा विमानमा सवार २२ जनाकै मृत्यु भयो । उक्त विमानको कलसाइन नाइन एन–एएफएक्स थियो ।
बुद्ध एयर दुर्घटना
मिति : २०११ सेप्टेम्बर २५
स्थान : कोटडाँडा, ललितपुर ।
मृत्यु : १९
घाइते/बाँच्न सफल : ०
सन् २०११ सेप्टेम्बर २५ मा बुद्ध एयरको विमान ललितपुरको कोटडाँडामा दुर्घटनामा पर्यो । काठमाडौँको मौसम खराब भएका कारणले आकाशमै होल्ड हुँदै गर्दा एक्कासी विमान दुर्घटनामा परेको थियो । नाइन एन–एईके कलसाइनको उक्त विमान दुर्घटनामा परी १९ जनाले ज्यान गुमाएका थिए ।
अग्नि एयर दुर्घटना
मिति : २०१२ मे १४
स्थान : जोमसोम, मुस्ताङ ।
मृत्यु : १५
घाइते/बाँच्न सफल : ६
सन् २०१२ को मे १४ मा मुस्ताङको जोमसोम विमानस्थल नजिकै अग्नि एयरको विमान दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाए । नाइन एन–एआईजी कलसाइनको उक्त विमान दुर्घटनामा ६ जनाले भने ज्यान जोगाउन सफल भए । विमान विमानस्थल नजिकैको पहाडमा ठोक्किएको थियो । यद्यपि आगो नलागेकाले ६ जना यात्रुले भने ज्यान जोगाउन सके ।
सीता एयर दुर्घटना
मिति : २०१२ सेप्टेम्बर २८
स्थान : मनोहरा, भक्तपुर ।
मृत्यु : १९
घाइते/बाँच्न सफल : ०
त्रिभुवन विमानस्थल नजिकै भएको अर्को ठूलो दुर्घटना सन् २०१२ सेप्टेम्बर २८ मा भयो । त्रिभुवन विमानस्थलबाट उडान भर्नेवित्तिकै चरासँग ठोक्किएर सीता एयरको विमान भक्तपुरको मनहरामा खसेको थियो । खस्ने बित्तिकै विमानमा आगो लागेपछि विमानमा सवार १९ जनाकै मृत्यु भएको थियो ।
फिस्टेल एयर हेलिकप्टर दुर्घटना
मिति : २०१३ जुन १९
स्थान : सिमिकोट ।
मृत्यु : १
घाइते/बाँच्न सफल : ५
सन् २०१३ जुन १९ मा फिस्टेल एयरको हेलिकप्टर सिमिकोटमा दुर्घटना भयो । दुर्घटनामा १ जनाले ज्यान गुमाए भने हेलिकप्टरमा सवार ५ जना बाँच्न सफल भए ।
एभिया क्लब कोप्टर दुर्घटना
मिति : २०१३ अक्टोबर ३
स्थान : शान्ति स्तुपा, पोखरा ।
मृत्यु : २
घाइते/बाँच्न सफल : ०
सन् २०१३ अक्टोबर ३ मा एभिया क्लब पोखराको कोप्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो । खेल पर्यटनका लागि ल्याइएको उक्त कोप्टरमा एक चालक र एकजना यात्रु सवार थिए ।
नेपाल एयरलाइन्स दुर्घटना
मिति : २०१४ फेब्रुअरी १६
स्थान : मसिनेलेक अर्घाखाँची ।
मृत्यु : १८
घाइते/बाँच्न सफल : ०
सन् २०१४ फेब्रुअरी १६ मा अघाखाँचीको मसिनेलेकमा नेपाल एयरलाइन्सको विमान दुर्घटनामा पर्यो । खराब मौसमको उक्त दिन बिहानै उडेको विमान सम्पर्कविहीन भएको थियो । दिउँसो १ बजेतिर मात्रै उक्त विमान दुर्घटनामा परेको थाहा भयो । दुर्घटनामा चालकदलका सदस्यसहित १८ जनाको मृत्यु भयो ।
नेपाल एयरलाइन्स दुर्घटना
मिति : २०१५ जुन २
स्थान : यमुना डाँडा, सिन्धुपाल्चोक ।
मृत्यु : ४
घाइते/बाँच्न सफल : ०
सन् २०१५ को जुन २ मा सिन्धुपाल्चोकको यमुनाडाँडामा माउन्टेन एयरको हेलिकप्टर दुर्घटनामा पर्यो । दुर्घटनामा क्याप्टेन सुबेक श्रेष्ठसहित ४ जनाले ज्यान गुमाए ।
पोखरा एभियाको कोप्टर दुर्घटना
मिति : २०१५ अक्टोबर ८
स्थान : माछापुच्छ्रे हिमाल ।
मृत्यु : २
घाइते/बाँच्न सफल : ०
सन् २०१५ को अक्टोबर ८ मा पोखरा एभिया क्लबको कोप्टर माछापुच्छ«े हिमालमा हरायो । घटनाको धेरै लामो समयपछि उक्त कोप्टर दुर्घटनामा परेको भेटियो । दुर्घटनामा २ जनाको ज्यान गयो ।
तारा एयर दुर्घटना
मिति : २०१६ फेबु्रअरी २४
स्थान : घोप्टेभीर, म्याग्दी
मृत्यु : २३
घाइते/बाँच्न सफल : ०
सन् २०१६ को फेब्रुअरी २४ मा तारा एयरको विमान म्याग्दीको सोलु घोप्टेभीर भन्ने स्थानमा दुर्घटना भयो । दुर्घटनामा विमानमा सवार सबै २३ यात्रुले ज्यान गुमाए । विमानको कलसाइन नाइन एन–एएचएच थियो ।
एयर काष्ठमण्डप विमान दुर्घटना
मिति : २०१६ फेबु्रअरी २६
स्थान : चिलङ्ख्या, कालिकोट ।
मृत्यु : २
घाइते/बाँच्न सफल : ९
सन् २०१६ फेबु्रअरी २६ मा काष्ठमण्डप एयरलाइन्सको विमान कालिकोटमा चिलान्ख्या भन्ने स्थानमा दुर्घटना हुँदा २ जनाको ज्यान गयो । विमानमा खराबी आएपछि चिलङ्ख्याको खेतमा फोर्स ल्यान्डिङ गर्दा पाइलट र अर्का एक जनाको ज्यान गएको थियो । दुर्घटनामा ९ जना बाँच्न सफल भए ।
फिस्टेल एयर हेलिकप्टर दुर्घटना
मिति : २०१६ अगस्ट ८
स्थान : बेतिनी, नुवाकोट ।
मृत्यु : ७
घाइते/बाँच्न सफल : ०
सन् २०१६ को अगस्ट ८ मा नुवाकोटको बेतिनी भन्ने स्थानमा फिस्टेल एयरको हेलिकप्टर दुर्घटना हुँदा ७ जनाले ज्यान गुमाए । खराब मौसमको कारण केही नदेखेपछि रुखमा ठोक्किएर उक्त हेलिकप्टर दुर्घटना भएको थियो ।
एभिया क्लब अल्ट्रालाइट दुर्घटना
मिति : २०१६ नोभेम्बर २३
स्थान : चापाकोट, पोखरा, कास्की ।
मृत्यु : १
घाइते/बाँच्न सफल : ०
सन् २०१६ को नोभेम्बर २३ मा एभिया क्लब पोखराको अल्ट्रालाइट कोप्टर चापाकोटमा दुर्घटना हुँदा १ जनाले ज्यान गुमाए ।
यूएस बङ्गला विमान दुर्घटना
मिति : २०१८ मार्च १२
स्थान : त्रिभुवन विमानस्थल, काठमाडौं ।
मृत्यु : ४९
घाइते/बाँच्न सफल : २२
सन् २०१८ को मार्च १२ को बङ्गलादेशको ढाकाबाट काठमाडौँ आएको यूएस बङ्गला विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा घटनास्थलमै ४९ जनाले ज्यान गुमाए । बम्बार्डिएन ४०० मोडलको उक्त विमान दुर्घटनामा २२ जना बाँच्न सफल भएका थिए । तर उपचारका क्रममा थपी ३ जनाको मृत्यु भएपछि उक्त दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो ।
मकालु एयर विमान दुर्घटना
मिति : २०१८ मे १६
स्थान : बाहुन खर्क, हुम्ला ।
मृत्यु : २
घाइते/बाँच्न सफल : ०
सन् २०१८ को मे १६ मा मकालु एयरको कार्गो विमान हुम्लाको बाहुनखर्क भन्ने स्थानमा दुर्घटना भयो । दुर्घटनामा विमानका पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपालीको मृत्यु भयो ।
अल्टिच्युडढ एयर हेलिकप्टर दुर्घटना
मिति : २०१८ सेप्टेम्बर ८
स्थान : सामागाउँ, गोरखा ।
मृत्यु : ५
घाइते/बाँच्न सफल : १
सन् २०१८ को सेप्टेम्बर ८ मा गोरखाको सामागाउँमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भयो । उक्त दुर्घटनामा ५ जनाको मृत्यु भयो भने १ जना बाँच्न सफल भए ।
एयर डाइनेस्टी दुर्घटना
मिति : २०१९ फेब्रुअरी २७
स्थान : पाथिभरा, ताप्लेजुङ ।
मृत्यु : ७
घाइते/बाँच्न सफल : ०
र, अन्तिम पटक दुर्घटनामा परेको विमान एयर डाइनेस्टीको हेलिकप्टर हो । यस हेलिकप्टरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाले ज्यान गुमाए । @राताेपाटी