परासी, १२ फागुन । जिल्ला प्रहरी कार्यालय नवलपरासीले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । फरक–फरक गाडीमा लागु औषध बोकी नेपाल भित्राउने क्रममा प्रहरील शंकाको आधारमा गाडी चेकजाँच गर्दा ठुलो मात्रामा लागु औषध सहित ३ जनालाई पक्राउ गरि लागु औषध मुद्दा चलाई थप अनुसन्धान थालेको प्रहरी नायब उपरिक्षक विरेन्द्र थापाले जानकारी दिए ।
डिएसपी थापाले, जिल्लाको रामग्राम नगरपालका १२ रानीपाकड स्थित लु २ ख ६९० नम्बरको ट्रकमा फेनरागन ७३ एम्पुल, नुफ्रिन ७३ एम्पुल, डाईजोपाम ७३ एम्पुल, नाईट्रोभेट २ पत्ता सहित ट्रक चालक सरावल गाउँपालिका ४ बस्ने ३१ बर्षिय बालकृष्ण चौधरीलाई पक्राउ गरि ट्रक पनि नियन्त्रणमा लिएको जानकारी दिए ।
त्यस्तै सोही ठाउँमा बा ७३ प ४७४३ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा सुई ४ थान, नुफ्रिन ५ एम्पुल, डाईजेपाम ५ एम्पुल, फेनरागन ५ एम्पुल सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने मोटरसाईकल चालक काभ्रेपलानचोकको खरेल गाउँपालिका २ बस्ने ३१ बर्षिय सुमन मगर र मोटरसाईकल सवार लम्जुङ्गको दुखपोखरी गाउँपालिका २ बस्ने ३० बर्षिय आइतराम घले रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका यि तिनै जना माथि लागु औषध मुद्दा दायर गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।