मदारबाबा मेला शुरु : मेलामा भक्तजनहरुको घुंईचो

0
360

परासी, १२ फागुन । ऐतिहासिक एवं पुरातात्विक तथा धार्मिक स्थल मदारबाबाको मेला आईतबारदेखि शुरु भएको छ । बर्षेनी पश्चिीमी नवलपरासीको सुस्ता गाउँपालिका २ महलबारीमा लाग्दै आएको यस मदार बाबाको मेलामा भक्तजनहरुको निकै घुईचो लागेको छ ।

एक साता चल्ने यस मदार बाबा मेलामा नेपाल भारतको विभिन्न क्षेत्रबाट लाखांै भक्तजनहरु आ–आफनो दुख तथा मनोकामना लिएर आउने गरेका छन् । मदार बाबा मेलामा आउने श्रद्धालु भक्तजनहरुको दुख हरन हुने र मनोकामना पुरा हुने मुस्लिम समुदायको धार्मिक मुल्य मान्यता रही आएको मठाधिश मौलाना अमिरुल्लाह अंसारी बताउछन् ।

मुस्लिम समुदायको धर्म संरक्षक मदारबाबाको वास्तविक नाम हजर बदिउद्दिन कुतुबुल मदार शाह रहमतुल्लाह अलैहे हो । उनको दरगाह महलबारी बजारमा रहेपनि मुख्य धार्मिक स्थल ‘मजार‘ महलबारी बजारबाट करिब ९ किलोमिटर पहाडमाथि मदारिया डाँडाँमा रहेकोे छ । डाँडामा अवस्थित मदार बाबाको मजारमा पुग्न सहज बाटो नभएकाले यात्रीहरुलाई पहाड चढन निकै संघर्ष गर्न पर्दछ ।

मदार बाबा ईस्लाम धर्मको वली (देउता) भएपनि उनी कहाँ हिन्दु, बौद्धिष्ट र क्रिस्चियन समेत आफनो दुख तथा मनोकामना लिएर आउने गरेको पाईन्छ । मेलामा नेपाल र भारतको विभिन्न मुख्य–मुख्य बजारहरुबाट दुखियाहरु आ–आफनो दुख तथा मनोकामना लिएर आउने र पुरा गराएर जाने धार्मिक विश्वास रही आएको कुतुबुल मदार शाह दरगाह कमेटीका सदस्य सविता चौधरीले बताईन् ।

साउदी अरबीया घरभएका मदारबाबा सिरिया देशको हबल सहरमा जन्मेका थिए । पाँच सय वर्ष ९६ महिना र ६ दिनसम्म जिवित रहेका मदारबाबाका पुरा नाम हजरत बदिउद्दिन शाह रहमतुल्लाह अलैह् कुतुबुल मदार शाह हो । उनी सिरियापछि भारतको गुजरात र मकनपुर सहरमा आएर तपस्या गर्ने क्रममा नेपालको पर्ने उक्त मदारीया डाँडामा पनि ४० दिनसम्म तपस्या गरेपछि त्यो स्थान धार्मिक महत्व पाएको हो ।

मुस्लिम समुदायको नेपालकै पहिलो र पुरानो एतिहासिक मदारबाबाको धार्मिक स्थल अहिले देशविदेशमा पनि प्रशिद्ध रहेको छ । मदारबाबाको मुख्य स्थलमा पुग्न निकै संघर्ष गर्न परेतापनि भने भक्तजनहरु आफु मदारबाबाको मुख्य स्थलमा पुगेर माथा टेकि मनोकामनाहरु पुरा गराउने गर्दछन् ।

दुखबाट पिडित, बच्चा नपाउने, भुत प्रेतबाट दुख पाईरहेका र जागरिबाट पिडित जस्ता पिडितहरु डाँडामा मदारबाबाको मजारमा माथा टेकेपछि मनोकामना पुरा हुने धार्मिक मुल्य मान्यता रही आएको कमेटीका कोषाध्यक्ष रियाजुद्दिन अंसारीले जानकारी दिए ।

मदारबाबो मेलामा एकपटक पनि आईपुग्ने भक्तजन आफुँलाई सौभाग्य ठान्दछ । यस बर्ष मेलामा आन्तरिक तथा बाह्य गरि ५ लाख भन्दा बढि भक्तजनहरु आउने अनुमान गरिएको मेला आयोजक कमेटीले जानकारी दिएको छ । मेलामा भक्तजनहरुका लागि बस्न, नुहाउन, शौचालय र खानेपानी समेतको व्यवस्थापन मिलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here