परासी, १८ माघ । उप–राष्ट्रपति नन्दन बहादुर पुनले पश्चिमी नवलपरासीको विभिन्न ऐतिहासिक, पुरातात्विक एवं धार्मिक स्थलहरुको भ्रमण अवलोकन गरेका छन् । विहिवार देखि जिल्लाको सुनवल १२ भुमहीमा संचालित प्रथम औद्योगिक व्यपार मेला एवं लोक सांस्कृतिक पर्यटन महोत्सव २०७५ को उद्दघाटन गर्न नवलपरासी आईपुगेका उप–राष्ट्रपति पुन, शुक्रबार जिल्लाको मुख्य–मुख्य धार्मिक स्थलको भ्रमण अवलोकन गरेका हुन् ।
उप–राष्ट्रपति पुनल हिन्दु समुदायको महत्वपुर्ण धार्मिक स्थल त्रिवेणी धामको भ्रमण गर्दै भगवान गौतम बुद्ध संग सम्बन्धित ऐतिहासिक देवदह ताल र बुद्धको मावली पण्डितपुरको पनि भ्रमण अवलोक गरेका हुन् ।
उप–राष्ट्रपति पुनले नेपालको हरिद्धार भनेर चिनिने धार्मिक स्थल त्रिवेणी धामको भ्रमण पश्चात जिल्लाको सुनवल नगरपालिका ७ तरगौलीमा रहेको भगवान बुद्ध संग सम्बन्धित ऐतिहासिक देवदह तालको भ्रमण गर्दै सो ताल र क्षेत्रको बारे जानकारी लिएका हुन् ।
उक्त ऐतिहासिक ताल र त्यस क्षेत्रको बारेमा सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुरा थापा क्षेत्रीले उप–राष्ट्रपति पुनलाई जानकारी दिदै सुनवल ८ बैरगनाथमा रहेको भोलेबाबाको मन्दिर समेतको भ्रमण अवलोकन गराएका हुन् । नगरमा उप–राष्ट्रपति पुनको आगमनले स्थानिय हर्षित हुदै भव्य स्वागत समेत गरका थिए ।
सुनवल नगरमा पर्नेमा यि दुबै धार्मिक स्थल भगवान बुद्ध संग सम्बन्धित र केहि बुद्धकालिन बस्तुहरु भेटिएकाले यस क्षेत्रको उत्खनन गर्न र यसलाई पर्यटनको रुपमा विकास गर्न नगर प्रमुख थापाले सरकारलाई आग्रह समेत गरेका हुन् ।
भ्रमणकै क्रममा रहेको उप–राष्ट्रपति पुनले जिल्लाको रामग्राम नगरपालिका १८ मा रहेको भगवान गौतम बुद्धको मावली पण्डितपुरको पनि भ्रमण गरेका छन् ।
भ्रमण अवलोकनमा पुगेको उप–राष्ट्रपति पुनलाई प्रदेश सभा सदस्य बैजनाथ जयसवाल र रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी गराउदै मायाको चिनो प्रदान गरेका थिए । उप–राष्ट्रपति पुनलाई जिल्लाका विभिन्न राजनितिक दलका जिल्ला नेता, जनप्रंतिनिधिहरु, समाजसेवी र स्थानियहरुले भव्य स्वागत गरेका थिए ।