उखु क्रसिङ्गमा ढिलाईका कारण किसानहरुलाइ ११ करोड घाटा !

0
464

परासी, २३ पुष । उखु क्रसिङ्ग ढिलाईका कारणले किसानहरुलाई करिब ११ करोड रुपैया घाटा व्यवहोर्न परेको छ । उखु मिलका संचालकहरुले समयमै उखु मिल संचालन नगरेकाले किसानहरु उखुमा १० करोड ७३ लाख ३० हजार रुपैयाको घाटा व्यवहोरी रहेका छन्् । आगामी दिनमा मिल संचालन भएन भने यो घाटा रकम दिनप्रतिदिन बढदै जाने छ ।

विगतका बर्षमा मिल संचालकहरुले मंसिर महिनाको पहिलो सातामै उखु मिल संचालन गरि उखु क्रसिङ्ग गर्दै आएका थिए तर यसबर्ष सरकारले तोकेको मुल्यमा मिल संचालकहरुले असन्तुष्टि जनाउदै डेढ महिना उखु क्रसिङ्ग ढिलो गरेकाले उखु खेतमै सुकेर किसानहरुलाई १० प्रतिशत घाटा लागेको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश चन्द्र यादवले जानकरी दिए ।

उनले भने, यसबर्ष सरकारले त समयमै उखुको मुल्य ५६३ रुपैया ६५ पैसा निर्धारण ग¥यो तर मिलहरुले सो मुल्यमा उखु खरिद नगर्ने भन्दै मिल संचालनमा ढिलाई गरेकाले किसानहरुलाई उखुमा अहिलेसम्म १० प्रतिशत घाटा लागेको जानकारी दिए ।

मिल संचालकहरुले यसबर्ष उखु प्रति क्वीन्टल ३८५ रुपैयामा मात्र क्रसिङ्ग गर्ने र सरकारले नै ८० प्रतिशत चिनी खरिद गर्ने माग राख्दै अनुदान रकम बाहेक सरकारले निर्धारण गरेको उखु मुल्य ४७१ रुपैया ३७ पैसामा उखु नकिन्ने भन्दै उखु मिल संचालनमा आलटाल गर्दै आएको अध्यक्ष यादवले आरोप लगाए ।

जिल्लामा ईन्दिरा सुगर ईण्डष्ट्रिस प्रा.लि., बागमति खाडसारी चिनी मिल र लुम्बिनी चिनी मिल गरि ३ वटा ठुला चिनी उद्योग संचालनमा छन् भने सय जति भेली क्रसरहरु पनि संचालनमा छन् । जिल्लामा ७ हजार ५ सय हेक्टर क्षेत्रफमा उखु खेती हुदै आएको छ जसबाट अनुपातमा २० लाख क्वीन्टल मात्र उखु उत्पादन हुने गरेको छ ।

यसरी डेढ महिनासम्म चिनी मिलहरु नचलेपछि समग्र उखुमा उखु सुकेर १० प्रतिशत हस भएको छ जसलाई क्वीन्टलमा परिवर्तन गर्दा २० लाख क्वीन्टल उखु सुकेर नास भएको पाईन्छ । प्रति क्वीन्टल ५३६ रुपैया ६५ पैसाको दरले गुणन गर्दा १० करोड ७३ लाख ३० हजार रुपैया किसानहरुले घाटा व्यवहोरी रहेको अध्यक्ष यादवले बताए । यो घाटा रकम मिल नचल्दा दिनप्रतिदिन किसानहरुले व्यवहोर्दै जाने बाध्यता रहेको देखिन्छ ।

यता केहि स–साना किसानहरु आफनो घर व्यवहार मिलाउन आफनो उखु भेली क्रसरमा प्रतिक्विन्टल २५० देखि ३१० रुपैया सस्तोमा उखु बेच्न बाध्य रहेको बताउछन् । ‘उखु क्रसिङ्ग सिजन डेढ महिना वित्यो, खेतमै उखु सुकेर नास हुदै गएको छ, अहिलेसम्म मिल चलेन‘ उखु किसानहरु अन्यौलमा परेका बताउछन् । जिल्लामा हुने साढे ७ हजार हेक्टयर क्षेत्रफलको उखु खेती करिब १४ हजार घरपरिवार आवद्ध छन् । अहिलेसम्म मिल नचल्दा पनि सम्बन्धित निकाय भने मौन बसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here