परासी, २२ पुष । यसै आर्थिक बर्षमा स्तरोन्नती भएको जिल्लाको महेशपुर भन्सारमा मंसिरमा पनि भन्सार राजस्व ओरालो लागेको छ । असोज महिनामै झण्डै एक करोड राजस्व संकलन भए पनि कातिक महिनामा ४० प्रतिसत राजस्व ह्रास भएको थियो भने गत मंसिर महिनामा झनै घटेर ओरालो तर्फको गएको भन्सार कार्यालयले जनाएको हो ।
बर्षौ देखी स्थानिय उद्योगी ब्यवसायीको माग गर्दै आएको स्तरोन्नति गरि मुल भन्सार बनाइए थियो । महिनाको ४० देखि ६० लाख राजस्व संकलन गर्ने भन्सारको स्तरोन्नति भएसंगै एक्कासी राजस्व संकलनमा कमी आए पछि स्थानिय आश्चर्य चकित छन् ।
भन्सारको स्तरोन्नति गर्दै अर्थमन्त्रीले सो भन्सारको उद्घाटन समेत गरिसकेका छन् । १७ जना कर्मचारी टोली कार्यालयमा खटेको छ । गत असोज महिनामा मात्रै ९९ लाख ४३ हजार ७ सय ६४ रुपियाँ भन्सार राजस्व संकलन भएको तर कातिक महिनामा घटेर ६० लाख ९० हजार १ सय ३७ रुपिया मात्रै राजस्व संकलन भएको थियो । अहिले मंसिर महिनामा त्योबाट पनि घटेर ४१ लाख ६५ हजार १ सय ९२ रुपिया झरेको छ ।
मुला नाका बन्ने वित्तिकै उत्साही भएका ब्यपारी अहिले भन्सार गराउन किन आउन छाडे अनुसन्धानको विषय बनेको छ ।
दुई दशकदेखि महेशपुर भन्सारलाई स्तरोन्नति गरि मुल भन्सार नाकाको माग स्थानीय उद्योगी ब्यवसायीले गर्दै आएका थिए । यो बर्ष देखि भन्सारको स्तरोन्नति भए पछि राजस्व संकलनमा वृद्धिसँगै ब्यापारीलाई भारत र तेश्रो देशबाट पनि मालसमान पैठारी गर्न सजिलो भएको थियो ।
तर अहिले महेशपुरमा भन्सार गराउन ब्यवसायीलाई असहज बातावरण भएकोले ब्यपारी फेरी भैरहवा मुल भन्सार तर्फ लागेका छन् । भारतको कलकत्ता बन्दरगाह देखि नेपालको सबै भन्दा सानो दुरीको भन्सार महेशपुर भन्सार हो । यो कुराको उठान गर्दै उबासंघ र राजनीतिक दलबाट समेत बर्षाै देखि मुल भन्सार बनाउनका लागि गरिदै आएको माग गर्दै आएको थियो ।