परासी, १९ पुष । नवलपरासी जिल्लाको सदरमुकाम विकास कार्यक्रमममा अनियमितता भएको आरोप लगाइएको छ । सदरमुकाम परासीमा निर्माण भैरहेको बाटो र ढल निर्माणमा कमसल ईट्टा र कमसल सामाग्री प्रयोग गरि ठेकेदारले लाखांै रकम अनियमितता गरिरहेको स्थानियले आरोप लगाएका छन् ।
सरकारले जिल्लाको सदरमुकाम परासीका लागि ४ बर्ष लागातार ५० करोडको दरले २ अर्ब रुपैया लगानी गर्नेछ । सदरमुकाम परासी विकास कार्यक्रमको पहिलो चरणमा बुद्धचोकदेखि निलो गेट र महेसपुर चोकदेखि बालगोविन्द पेट्रोलपम्म चोकसम्म फोरलेन, झरही खोलादेखि मन्झरिया चोकसम्मको २ लेनको कालोपत्रे बाटो र व्यस्थित हाट बजार निर्माण गर्न शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय चितवनले तीन फरक–फरक ठेकेदार कम्पनीलाई ठेक्का दिएको छ ।
जस मध्ये झरही खोलादेखि मंझरिया चोकसम्म दुबै साईड ढल (नाला) सहित २ लेनको कालोपत्रे बाटो निर्माण गर्न गौरी पार्वती निर्माण सेवा प्रा.लीलाई २ बर्षको म्याद तोकी १६ करोड ९४ लाख १२२ रुपैयामा ठेक्का दिइएको छ ।
ठेकेदारले सो ठेक्काबाट मोटो रकम बचाउन गुणस्तरहिन कार्य गरिरहेको स्थानियले आरोप लगाएका छन् । ठेकेदारले ढलको सोलिङ्गमा गुणस्तरहिन सेम ईट्टा प्रयोग गरि २२ लाख ८८ हजार रुपैया अनियमितता गर्न खोजको नागरिक समाजका अध्यक्ष सम्भु उपाध्यायले आरोप लगाएका छन् ।
झरही खोलादेखि मन्झरिया चोकसम्म २.२ किलोमिटर रहेको उक्त दुरीमा दुबै साईडमा निर्माण भैरहेको ढलको कुल लम्बाई ४.४ किलोमिटर र चौडाई २ मिटर छ । ढलको एक मिटर लम्बाई र एक मिटर चौैडाईमा सरदर ४० वटा ईट्टा प्रयोग भैरहेको छ । प्रति मिटर ४० ईट्टाको दरले दुबै साईडको कुल लम्बाई ४.४ किलोमिटर र दुबै साईडको चौडाई २ मिटरमा गुणन गर्दा कुल ३ लाख ५२ हजार अव्वल ईट्टा प्रयोग हुने देखिन्छ ।
ढलमा प्रयोग हुने प्रति अव्वल ईट्टाको बजार मुल्य १३ दश्मल्व ५० पैसाको दरले ३ लाख ५२ हजार ईट्टालाई खरिद गर्दा कुल ४७ लाख ५२ हजार रुपैया पर्न जान्छ तर ठेकेदारले मोटो रकम घोटाला गर्न बजारमा ७ रुपैया मुल्य पर्ने गुणस्तरहिन ईट्टा सोलिङ्गमा प्रयोग गर्दै २२ लाख ८८ हजार रुपैयाको घोटाला गर्न खोजेको अध्यक्ष उपाध्यायले आरोप लगाए ।
उनले भने, कमसल ईट्टा प्रयोग भैरहेकोमा कतै–कतै स्थानियद्धारा विरोध आएपछि दुईचार ट्राली मिठा अव्वल तथा दोएम ईट्टा खसालेर स्थानियलाई झुक्याउदै फेरि गुणस्तरहिन सेमईट्टा नै प्रयोग गरिरहेको आरोप लगाए ।
त्यस्तै यता बुद्धचोकदेखि निलो गेटसम्म निर्माण भैरहेको ढलमा पनि यस्तै कत–कतै कमसल ईट्टा प्रयोग भैरहेको जनगुनासो बढेको छ । ठेकेदारले ईट्टामा मात्र होईन धुलो न्युनिकरणका लागि बाटोमा पानी खसाल्ने, गुणस्तर मेटिरियल प्रयोग जस्ता कार्यमा अनियमितता गरिहेको गुनासो बढेको पाइएको छ ।
यसरी गुणस्तरहिन कार्य भैरहेको जनगुनासो बढिरहदा पनि जिल्ला प्रशासन कार्यालय र रामग्राम नगरपालिका र शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय चितवन समेतले मौन बसेको अवस्था छ ।