परासी, २० पुष । देशभरि स्थानिय तहका जनप्रतिनिधिहरुले पाउने सेवा सुविधाबाट आफनो व्यक्तिगत व्यवहार मिलाउनमा व्यवस्त रहदा केहि जनप्रतिनिधिहरुले पाउने सेवा सुविधाबाट सामाजिक कार्य गरि समाजमा उदहारण बनेका छन् । देशभरिका जनप्रतिनिधिहरुले सम्बन्धित नगरपालिका तथा गाउँपालिकाबाट पाउने सेवासुविधा तथा बैठक भत्ता रकम उपभोग गरिरहँदा केहि जनप्रतिनिधिले सो सेवासुविधालाई समाजमा खर्चिदै समाजमा उदहारण बनी चर्चाका पात्र पनि बनेका छन् ।
त्यस्तै पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका नगर प्रमुख(मेयर) भिम बहादुर थापा क्षेत्री पनि आफुले पाउने बैठक भत्ता तथा सेवासुविधाका रकम सामाजिक कार्यमा लगाई जिल्लामै उदहारण बनेका छन् । मेयर थापाले नगरपालिकाबाट पाउने सेवासुविधालाई आफनो व्यक्तिगत प्रयोजनमा नलगाई सामाजिक कार्यमा खर्चिने कार्यले उनको जिल्लामा निकै चर्चा परिचर्चा भैरहेको छ ।
मेयर थापाले, विगत ३० बर्षदेखि रिक्सा चलाएर आफनो घरपरिवार पाल्दै आएका सुनवल नगरपालिका २ रजहाँबासी किसोरी बनियलाई आफनो भत्ताको रकमबाट ३० हजार मुल्य पर्ने रिक्सा खरिद गरि प्रदान गर्दा उनी थप सन्तुष्टि महसुस गरेको बताएका छन् । स्थानिय स्तरमा काकडभिट्टा नामले चिनिने ५२ बर्षिय किसोरी बनियाले जमानादेखि प्रयोग गरिरहेको रिक्सा मर्मतको अभावमा विग्रेपछि रिक्साको माध्यमबाट उनको गुजारा चलाउन मेयर थापाले सो रिक्सा प्रदान गरि बनियालाई सहयोग गरेको बताए ।
रिक्सा चलाएर घरपरिवार पालीरहेका बनिया यता करिब ५ बर्षदेखि घरबाटै पिडित हुदै गएका छन् । २ छोरा बुहारीले साथ नदिएपछि यतिबेला बनियालाई छाँक समेत टार्न गाहे भएको बताए । उनले भने, ‘मेरो यहि रिक्सा नै सहारा हो केहि महिना दिनदेखि यो रिक्सा विग्रेर काम गर्न नपाएको भन्दै यतिबेला छाँक समेत टार्न मुस्किल भएको दुखेसो पोखे ।‘ ‘छोराहरु कमाउने भए उनीहरु अब मलाई देखि सहन्नन्, मलाई कुनै छोराले साथ दिएको छैन यतिबेला म बेसहारा छुँ मेरो सहारा र छाँक टार्ने माध्यम यो रिक्सा नै बनेकोे‘ उनी रिक्सा पाएर खुशी व्यक्त गरे । मेयर थापा रिक्सा दिन बनियाकै घर पुगेर उनलाई रिक्सा हस्तान्त्रण गरेका थिए ।
त्यस्तै मेयर थापाले नगरपालिकाबाट पाएको सेवासुविधा र भत्ताकै रकमले सुनवल नगरपालिका ८ जमुना परियारलाई किडनीको अपरेशनका लागि ४० हजार रुपैया दिएका थिए भने सुनवल ८ कि सरिता राईले बिष सेवन गरि उपचारार्थ रहदाँ उनलाई १२ हजार रुपैया उपचारको लागि दिएका थिए । त्यस्तै १ लाख ५० हजार रुपैयाको बजेटले सुनवलका बृद्धबृद्धाहरुलाई मुक्तिनाथ तिर्थयात्रामा पठाएका थिए । त्यस्तै सुनवल २ को ५२ टोलामा दधिराम पौडेलको किरिया खर्चका लागि उनको परिवारलाई २५ हजार रुपैया सहयो गरेको जनाए ।
मेयर थापाले भने, नगरपालिकाबाट पाउने सेवा सुविधा तथा बैठक भत्ताको रकम नलिई सो रकम फ्रिज गराउन भन्दा सो रकम लिएर सामाजिक कार्यमा लगाउन उत्तम हुने बताए । मेयर थापा एक बर्षसम्म पाएको सेवासुविधा तथा भत्ता रकमलाई सार्वजनकि गरि एक कोष खडा गर्ने बताए ।