काठमाडौं, १३ पुष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिया राजापुर नगरपालिका वडा नं. १० का वडा सदस्य उत्तम चौधरीलाई सेवाग्राहीबाट साढे २ लाख रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको छ । अख्तियारको बुटवल र नेपालगञ्जस्थित कार्यालयबाट गएको टोलीले उनलाई बिहीबार पक्राउ गरेको हो ।
“अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज वडा सदस्य उत्तम चौधरीलाई दुई लाख ५० हजार र घुसबापतको रकम लिइसकेको अवस्थामा जिल्ला बर्दिया, कोठियाघाटस्थित इच्छा होटलबाट २०७५ पुस १२ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ,” अख्तियारद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
क्रसर उद्योग दार्ता गर्न सिफारिस तथा सहयोग गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको सूचना प्राप्त गरेपछि अख्तियारको टेलीले वडा सदस्य चौधरीमाथि नगिरानी बढाएको थियो । यसै क्रममा उनलाई बिहीबार सेवाग्राहीबाट साढे २ लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।