रामग्राम स्तुपका लागि भएन विकासको पहल !

0
374

परासी, ११ पुष । एतिहासिक पुरातात्विक एवं धार्मिक स्थल रामग्राम स्तुप विकासको अभावमा ओझेलमा छ । रामग्राम स्तुपको विकासका लागि लुम्बिनी विकास कोष तथा सम्बन्धित तह रामग्राम नगरपालिकाबाट कुनै प्रकारको पहल नभएकाले स्तुप ओझेलमा छ । रामग्राम स्तुप नवलपरासी जिल्लाको रामग्राम नगरपालिका ७ मा पर्दछ ।

सरकारले रामग्राम स्तुप विकासका लागि बर्षेनी करोडौ रुपैया लुम्बिनी विकास कोष पठाएपनि लुम्बिनी विकास कोषले रामग्राम स्तुपमा केहि लगानी गरेको पाइएको छैन । नत्र यसको विकासका लागि रामग्राम नगरपालिकाबाटै कुनै पहल भएको पाइएको नगरबासी अमिरुल्लाह मिँयाले आरोप लगाए ।

स्तुपको महत्व
रामग्राम स्तुपमा भगवान गौतम बुद्धको आठ ठाउँमा राखिएको अस्टधातु मध्ये विश्वमै एक मात्र सुरक्षित स्थान हो । प्राचिन कोलिय राजाले बुद्धको अस्तु ल्याएर कोलिय गणराज्यको राजधानी रामग्राममा राखी स्तुप निर्माण गरेको ईतिहास छ । रामग्राम स्तुप इसापुर्व ५ सय बर्ष पुरानो अर्थात आजदेखी पच्चिस सय बर्ष पहिला कोलिय राजाद्धारा निर्मित स्तुप हो ।

शान्तिका अग्रदुत भगवान बुद्धको महापरिनिर्वाण पछि अन्त्येष्टि भयो र अन्त्येष्टि पछि बचेको अस्थि(अवशेष) ल्याएर अस्तु कलशमा राखेर बनाइएको स्तुप हो । कोलिय गणराज्यको राजधानीलाई रामग्राम पनि भनिन्थ्यो र रामग्रामका राजाले स्तुप बनाएका कारण यस्को नाम रामग्राम स्तुप भनिएको हो । रामग्राम स्तुपको खोजी गर्दा कोलिय राजधानी रामग्राम देखी चार माईल पुर्व र दक्षिण दिशामा रहेको भन्दै चिनियायात्रीको बर्णनको आधारमा रामग्राम स्तुप भेटिएको थियो ।

स्तुपको महत्वबारे बौद्धधर्म ग्रन्थ त्रिपिटक मा पनि उल्लेख छ । बौद्ध स्तुप अन्य स्थानमा पनि छ, तर रामग्राम स्तुप बुद्धको परिनिर्वाण पश्चात विभिन्न राजाले बनाएका विभिन्न आठ स्तुप मध्ये सिगोँ अस्तु भाग रहेको स्तुप हो । बाकी ७ वटा स्तुपको उत्खनन गराइ तत्कालिन मगध सम्राट अशोक मौर्यले ति अस्थिलाई विभिन्न देशमा पुर्याउदै ८४ हजार स्थानमा बाडेर स्तुप बनाउन लगाएका थिए, तर रामग्राम स्तुपको उत्खनन उनले स्तुपको सुरक्षार्थ नागजातीको आग्रहमा उत्खनन नगराई दिदा सिगोँ भाग बचेको छ । त्यही भएर रामग्राम स्तुप संसारको एक मात्र सिगोँ भाग अस्तु रहेको स्तुप बचेको छ ।

त्यतिबेला बुद्धका अनुयायीहरुले शान्ती प्राप्तका लागि यस रामग्राम स्तुपको पुजाआजा गर्ने उद्देश्यले यो रामग्राम स्तुपको निर्माण गरिएको स्थानिय बेचु गौडले जानकारी दिए ।

एक बगैचामा माटोको एक ठुलो ढिस्कोले चिनिने रामग्राम स्तुपमा कुनै प्रकारको भौतिक पुर्वाधार निर्माण, संरक्षण तथा प्रचार प्रसारको कार्यहरु गरिएको पाइएको छैन । बौध धर्मका अनुसार अतिनै महत्व बोकेको यस रामगं्राम स्तुपको पुजा तथा भ्रमण अवलोकन गर्ने विभिन्न देशका बाह्य पर्यटकहरु आउने गर्दछन् तर यहाँ लज होटेल, खानेपानी, शौचालय, पार्क र प्राथना गर्ने लगायतका विभिन्न भौतिक संरचनाको अभावले पर्यटकहरु उत्तिखेरै फर्किने गरेका छन् ।

सरकारले स्तुपको विकासका लागि पनि कराडौंको रकम बिनियोजन गरि कोषलाई जिम्मा लगाउदै आएको छ तर कोषले उक्त रकम नखर्चिकनै फ्रिज गराउने काम निरन्तर गरेको पाइएको छ । रामग्राम नगरपालिका र जिल्ला विकास समन्वय समितिले पनि यसको विकास र संरक्षणमा खासै चाँसो नदेखाएकै अवस्था हो ।

यता रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ताले स्तुपको विकासका लागि मास्टर प्लान बनाई अगाडी बढेको बताउदै स्तुपको लागि ५० लाख बिनियोजन गरिएको जानकारी दिए । नगरपालिकामा जनप्रतिनिधि नभएकाले स्तुपको संरक्षण तथा विकास नभएको भन्दै अब स्तुपको विकासका लागि सांस्कृति मन्त्रालयत तथा नगरपालिकाबाट सक्दो सहयोग गर्ने बताए ।

रामग्राम स्तुपमा चिन, थाईल्याण्ड, भेतनाम, जापान, श्रीलंका, कोरिया लगायतका ठाउँबाट मासिक करिब ५ सय पर्यटकहरु आउने गर्दर्छन् । भगवान बुद्धसंग सम्बन्धित स्थल बुद्धको जन्म स्थल लुम्बिनी, मावली पण्तिपुर, अस्तुधातु भएको रामग्राम स्तुप, तिलौराकोट, देवदह लगायतका धार्मिक स्थलहरु छन् जसमध्ये लुम्बिनीको मात्र विकास भएको अरु सबै ठाउँहरु कोषको लापरवाहीले ओझेलमा परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here