परासी, ७ पुष । ठेकेदारले ढल निर्माणमा कमसल ईट्टा प्रयोग गरि अनियमितता गरिरहेको आरोप लगाइएको छ । तराई जिल्लाको सदरमुकाम विकास कार्यक्रम अन्तर्गत नवलपरासीको सदर मुकाम परासीको पोखरापालीमा भैरहेको ढल निर्माणको सोलिङ्गमा ठेकेदारले कमसल ईट्टा प्रयोग गरि अनियमितता गर्न खोजेको आरोप लगाइएको हो ।
झरही खोलादेखि मन्झरिया चोकसम्म दुबै साईडमा ढलसहित कालोपत्रे गर्ने बाटोमा, निर्माणाधिन ढलमा कमसल ईट्टा प्रयोग गर्दै कमजोर आरसीसी ढलान समेतको कार्य भैरहेको नागरिक समाजका अध्यक्ष सम्भु उपाध्यायले आरोप लगाए ।
उनले भने, ढलको सोलिङ्गमा कमसल ईट्टा प्रयोग भईरहेको स्थानियले गुनासो गरेपछि शुक्रबार हेर्न जाँदा ठेकेदारले सोलिङ्गमा थर्ड क्वालीटीको ईट्टा प्रयोग गरेको पाइएपछि जिल्ला प्रशासन कार्याालय माफर्त काम रोकाइएको बताए । यता ठेकेदार कम्पनीले कमसल ईट्टा फेरिएर काम भैरहेको जनाएको छ ।
शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय चितवनले गौरी पार्वती निर्माण सेवा प्रा.लि काठमाण्डौलाई भ्याट र कन्टिजेन्सी बाहेक १६ करोड ९४ लाख १२२ रुपैयामा ठेक्का दिएको छ । वि.स २०७४ माघ २ गतेदेखि सो बाटो निर्माण कार्य शुरु गरि २०७६ श्रावण १ गतेसम्ममा कार्य सम्पन्न गर्नु पर्ने म्याद तोकिएको छ ।
सो प्रोजेक्टमा बालगोविन्द पेट्रोलपम्पदेखि महेसपुर चोकसम्म दुबै साईडमा नाला,पेटी र डिभाईडर सहित फोरलेनको कालोपत्रे बाटो निर्माण गरिने हो भने झरही खोलादेखि मन्झरिया चोकसम्म दुबै साईडमा नाला सहित कालोपत्रे बाटो निर्माण गरिने बताइएको छ । एकातरि ठेकेदार कम्पनीले विभिन्न बहानामा काम ढिलो सुरु गरि समय लम्ब्याउने खोजेको छ भने अर्काे तर्फ निर्माण कार्यमा कसल सामाग्री प्रयोग गरि अनियमितता गर्न खोजेको स्थानियले आरोप लगाएका छन् ।
यता महेसपुर चोकदेखि बालगोविन्द चोकसम्म पनि ढलको निर्माण कार्य गर्दा कमसल ईट्टा प्रयोग गरेको पाइएको थियो भने, माटो पुर्ने ठाउँमा भुसको खरानी प्रयोग गरेको पाइएको थियो ।
यसरी परासी बजारमै ढल तथा बाटो निर्माण कार्य भैरहदा यसमा प्रयोग भैरहेको निर्माण सामाग्रीको गुणस्तर र मापदण्डलाई सम्बन्धित निकायले ध्यान नदिएको जनगुनासो बढदै गएको छ । परासी बजारमा बाटोको निर्माण कार्य सुस्त गतिमा भैरहेकाले धुलोले हैरानी खेप्दी स्थानिय काम समयमै सम्पन्न गराउनु पर्ने सम्बन्ध्ति निकायलाई आग्रह गरेका छन् ।